राप्तीपारीका बस्ती उज्यालो बनाउँदै सांसद नमूना

नरैनापुर गाउँपालिका–१ कट्कुइँयामा विद्युत सेवाको उद्घाटन गर्दै सांसद कृष्णा केसी नमूना File Photo

नेपालगन्ज : १९ असार २०७७ मा बाँकेको कर्णाली उपमा पाएको बघौडा क्षेत्रको नरैनापुर गाउँपालिका–१ कट्कुइँयामा रहेको सशस्त्र प्रहरी बलको बीओपीबाट विद्युत सेवाको उद्घाटन गर्दै सांसद कृष्णा केसी नमूना पोल गाडेर बिजुली ल्याउने चुनावी नारा अब सदाका लागि अन्त्य भएको घोषणा गरेकी थिइन् ।
०५३÷५४ सालमा पोल गाडेर पनि नरैनापुर क्षेत्रमा विद्युत पुगेको थिएन । दल र नेताले विद्युतलाई हरेक चुनावमा भोट माग्ने नारा बनाएका थिए । बाँकेमा कोरोना कहरकै बेला सांसद नमूनाको निरन्तर पहलमा नरैनापुरमा विद्युत पुगेको थियो । यही अवधिमा राप्तीसोनारीका धेरै गाउँ झलमल्ल भए । राप्तीसोनारी–४ खयरभट्टी क्षेत्र विद्युत सेवाबाट बञ्चित थियो । सांसद नमूना त्यहाँ विद्युत सेवा विस्तार गर्न निरन्तर पहलमै थिइन् ।उनी दोस्रो कार्यकालका लागि बाँके क्षेत्र नं. १ (१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भइन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेटघाट गर्दै लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमूना 

सांसद पदको सपथ पनि नखाँदै नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले तयार पारेको विद्युत विस्तारको अनुमानित बजेटसहितको फाइल बोकेर काठमाडौं पुगेकी उनले बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्र्देशक कुलमान घिसिङबाट खयरभट्टी क्षेत्रमा विद्युत सेवा विस्तारका लागि तीन करोड पचास लाख रुपैयाँ स्वीकृत गरेकी हुन् । अब सो क्षेत्रमा करिब २२ किलोमिटर ‘११ केभी प्रसारण लाइन’ र ४.३ मिटर वितरण लाइन विस्तार गरी तथा ३ थान ट्रान्सफर्मर जडान गरेर गाउँमा विद्युत सेवा विस्तार हुनेछ ।
‘निर्वाचनको बेला सो क्षेत्रमा पुग्दा विद्युत सेवाको आवश्यकता महसुस गरेकी थिए । छिमेकी गाउँमा बिजुली बलेको देख्दा त्यहाँका स्थानीयले हामीले कहिले बिजुली बाल्न पाउँला भनेर सुनाउँथे ?’, काठमाडौंमा रहेकी सांसद नमूनाले अन्नपूर्ण पोस्ट्सँग टेलिफोनमा अनुभव सुनाइन्, ‘त्यही बेला जनतालाई विद्युुत सेवा दिलाउने मैले अठोट गरेकी थिए । खयरभट्टी क्षेत्रमा विद्युतीकरणका लागि मैले थालेको प्रयासले सार्थकता पाएको छ । अब गाउँलेले बिजुली बाल्ने सपना चाँडै पूरा हुनेछ ।’
जिल्लाको दुर्गम नरैनापुर र राप्तीसोनारी गाउँपालिकाका अन्य स्थानमा बिजुली पुगे खयरभट्टी क्षेत्रका चार सय घरधुरीमा विद्युत सेवा विस्तार हुन सकेको थिएन । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज डिभिजन कार्यालयका प्रमुख सुरज गौतमले पनि बजेट स्वीकृत भएर आएको जानकारी दिँदै अब चाँडै काम सुरु हुने बताए । उनले भने, ‘खयरभट्टी क्षेत्रमा विद्युतीकरणको लागि बजेट स्वीकृत भएर आएको छ । अब चाँडै टेण्डर आह्वान गरेर काम अघि बढ्ने बाटो खुलेको छ ।’