सामुदायिक अगुवाको राष्ट्रिय सम्मेलन नेपालगन्जमा
नेपालगन्ज : यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका क्षेत्रमा क्रियाशील पश्चिम नेपालका सामुदायिक अगुवाहरुको राष्ट्रिय सम्मेलन मंगलबार नेपालगन्जमा सम्पन्न भएको छ ।
हाम्रो आवाज, हाम्रो सरोकार, यौन तथा प्रजनन् स्वास्थ्य मौलिक अधिकार भन्ने मूल नाराका साथ आइपास नेपालले आयोजना गरेको सम्मेलनको लुम्बिनी प्रदेशका सचिव डा.विकास देवकोटाले उद्घाटन गरेका थिए ।
सम्मेलनमा जिल्लागत रुपमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका क्षेत्रमा भएका राम्रा अभ्यास, समाजमा आएका परिवर्तन, सफलताका कथा र कार्यक्रम सञ्चालनका क्रममा भोगेका चुनौतीका विषयमा समूहगत रुपमा प्रस्तुती र छलफल भएको थियो ।
८ जिल्लाका सामुदायिक अगुवाहरुले सामुदायिक अगुवाहरुको नतिजा, भएको परिवर्तन र प्रभाव, सिकाइ तथा अनुभव–आदान प्रदान गरिएको थियो । कार्यक्रममा सामाजिक अगुवाले भोगेका चुनौती र पाएका सफलताको भिडियो पनि प्रस्तुत गरिएको थियो । मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।
सामुदायिक अगुवाले महिला र किशोरकिशोरीलाई स्थानीय सरकार र स्वास्थ्य संस्थाहरुमा यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सम्बन्धि पैरवीका लागि खबरदारी गर्ने कार्य गरेका छन् । यो कार्यले समुदायमा बालविवाह रोकथाम भइरहेको भइरहेको छ । सामाजिक अगुवाहरुले सुरक्षित गर्भपतन सेवा लिने बढेको बताएका थिए । सरकारी स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा निःशुल्क र सेवाग्राहीको पहिचान गोप्य राख्ने भएकाले स्वास्थ्य संस्थामै पुगेर सेवा लिनेको संख्या बढेको उनीहरुको भनाइ थियो ।
आइपास नेपालले मंगलबार नेपालगन्जमा सम्मेलनस्थलमै आयोजना गरेको पत्रकार सम्मेलन अछामकी सामाजिक अगुवा राधाकुमारी साउँदले पहिले सरकारी स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतन सेवा छ भन्ने थाहा नपाइएर पनि असुरक्षित गर्भपतन हुने गरेकोमा अहिले स्वास्थ्य संस्थामै सेवा लिने बढेको बताइन् । रोल्पामा सुरक्षित गर्भपतन सेवाको क्षेत्रमा काम गरिरहेकी पास नेपालकी कार्यक्रम संयोजक ममता खत्रीले पनि सुरक्षित गर्भपतन सेवाबाट महिलाले जानकारी पाएर लिन थालेको बताइन् ।
आइपास नेपालका कार्यवाहक निर्देशक जगदिश्वर घिमिरेले महिला अगुवाको पहलमा सुरक्षित गर्भपतनका बारेमा समुदायको बुझाइले समाजमा परिवर्तन ल्याइरहेको बताए । निर्देशक घिमिरे भन्छन्, ‘सुरक्षित गर्भपतन गर्ने कति बढे ? परिवार नियोजनका साधन प्रयोग गर्ने कति बढे एकीन तथ्याङ्ककै रुपमा भन्न सकिन्न । सुरक्षित गर्भपतन बढाउन, गर्भ निरोधकका साधनको प्रयोग बढाउन र बालविवाह रोक्न सामाजिक अगुवा सफल भएका छन् ।’ आइपास नेपालले सन् २००२ देखि नेपालमा सुरक्षित गर्भपतन तथा गर्भनिरोधका साधनहरुको पहुँच बढाउन सरकारका विभिन्न निकायहरुको समन्वय र सहकार्यमा काम गर्दै आएको छ ।
सोमबार र मंगलबार आयोजना गरेको दुई दिने सम्मेलनमा लुम्बिनी प्रदेशका रोल्पा, पाल्पा, अर्घाखाँची र सुदूरपश्चिम प्रदेशका बाजुरा, डँडेलधुरा, अछाम, कैलाली, डोटीका गरी ८ जिल्लामा १५६ जना महिला र किशोरी सामुदायिक अगुवा, स्थानीय तहका जनप्रतिनिधि, आइपासका साझेदार संस्थाका प्रतिनिधि र पत्रकार गरी २०० बढीको सहभागिता रहेको आइपास नेपालका कार्यक्रम विकास तथा सञ्चार विशेषज्ञ अमित तिमिल्सेनाले जानकारी दिए ।