खुकुरी प्रहार गरी फरार ४ अभियुक्त पक्राउ

नेपालगन्ज : बाँकेमा खुकुरी प्रहार गरी फरार भएका चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सोमबार बिहान पत्रकार सम्मेलन गरी घटनाका अभियुक्तहरु नेपालगन्ज उप–महानगरपालिका–१८ बस्ने वर्ष २९ को विनय भण्डारी, वडा नं. ६ बस्ने वर्ष ३१ को तासे भन्ने प्रकाश थापा, राप्तीसोनारी गाउँपालिका–२ बस्ने वर्ष ३१ को नारायण डाँगी र बैजनाथ गाउँपालिका–५ बस्ने वर्ष २९ को प्रकाश रसाइली भन्ने तुल्सीराम सुनारलाई डुडुवा गाउँपालिका–२ दासपुरुवाबाट नियन्त्रणमा लिएको हो । घटनामा प्रयोग भएका २ थान खुकुरी र युपी ३२ इयु ८६१६ नं. को कार पनि बराबद गरिएको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो सवा १ बजे नेपालगन्ज–४ गणेशपुरमा भारतीय कारमा आएका उनीहरुले नेपालगन्ज–१२ बस्ने अनुराग शाह, जानकी गाउँपालिका–३ बस्ने उज्वल शाह र नेपालगन्ज–४ बस्ने सुभमजंग शाहलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । घटना लगत्तै बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौरको कमाण्डमा प्रहरीले अभियुक्तहरुको खोजी कार्य जारी राखेको थियो ।