घरमै बनाउनुस् पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड

गनापुर (बाँके) : तपाई महिनावारीको बेला प्रयोग हुने सेनेटरी प्याड किन्दा किन्दा हैरान हुनुहुन्छ ? कि पटक पटक किन्दा पैंसाको अभाव झेलिरहनु भएको छ ? अब आत्तिनु पर्दैन । आफूलाई आवश्यक पर्ने सेनेटरी प्याड तपाई घरमै बनाउन सक्नुहुन्छ । त्यो पनि पटक पटक प्रयोग गर्न मिल्ने । यस्तो प्याड सफा, राम्रो र उच्च हाइजेनिक हुन्छ । प्याडमा केमिकलको प्रयोग हुँदैन ।

बाँकेको महिला सहयोगी केन्द्र बाँकेले किशोरीहरुका लागि यस्तो तालिम दिइरहेको छ । केन्द्रले हालै जानकी गाउँपालिकाको वडा नं. ६ को आर्थिक सहयोगमा वडाका झन्डैै एक दर्जन बस्तीका ३१ जना किशोरी र महिलालाई यस्तो तालिम दिएको छ । काठमाडौंबाट आएका नीरज न्यौपानेले किशोरीहरुलाई घरमै बनाउन मिल्ने सुतीको कपडाको पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड बनाउने तालिम दिएका थिए ।

संस्थाकी अध्यक्ष माया थापा राना तालिम लिएका किशोरीको माध्यमबाट नै जिल्लाभरी नै स्कुले छात्रा र दुर्गम बस्तीका किशोरीहरुलाई सेनेटेरी प्याड बनाउन सिकाउने लक्ष्य रहेको बताउँछिन् । जानकी गाउँपालिकाका किशोरीहरुले स्मार्ट बेटी समूह गठन गरेर पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड बनाउने तालिम गाउँगाउँ र बस्ती बस्तीमा लैजाने तयारी गरेका छन् । समूहका संयोजक लक्ष्मीकुमारी महतरा भन्छिन्, ‘आर्थिक अवस्था कमजोर भएका किशोरीलाई तालिम दिन हामी गाउँगाउँ, बस्ती बस्ती र स्कुलमा पुग्नेछौं । प्याड नपाएर दुःख पाइरहेका दिदी बहिनीहरुलाई प्याड बनाउने तालिम दिएर यो समस्याबाट छुटकारा दिने हामीले लक्ष्य लिएका छौं ।’