उद्योगपति कार्कीद्वारा २ विद्यार्थी पढाउन २५ हजार सहयोग

नेपालगन्ज : बाँकेका उद्योगपति कमल कार्कीले आर्थिक अवस्था कमजोर भएका दिदीभाइको पढाइका लागि आर्थिक सहयोग गरेका छन् ।
गोरखापत्र दैनिकका पत्रकार गोविन्द शर्माको पहलमा स्टार पोलिपाइप तथा बागेश्वरी ह्युमपाइप लगायत पाँच वटा उद्योगका सञ्चालक कार्कीले खजुरा गाउँपालिका ४ का पुनम बुढा र गणेश बुढाको शैक्षिक निरन्तरताका २५ हजार रुपियाँ सहयोग गरेका हुन् । पुनम ज्ञानोदय मावि खजुरामा कक्षा ९ मा र गणेश मनकामना माविमा कक्षा ७ मा पढ्छन् । दुई बर्षअघि कोरोनाबाट बुवाको निधन भएपछि दिदीभाइ मामा घरमा बसेर पढिरहेका छन् ।
लुम्विनी प्रदेशसभा सदस्य तथा नेकपा एमाले बाँकेका सचिव रत्न खत्री, एमाले बाँके जिल्ला कमिटी सदस्य देवराम विसी, ब्यवसायी नमु पाण्डेसहितको टोलीले शनिबार घरमै पुगेर छात्रछात्राका बाजे टेकबहादुर महतारालाई रकम हस्तान्तरण गरेका हुन् । महताराले सहयोग रकमले दुबै जनाको एक वर्षको शैक्षिक क्रियाकलाप अघि बढाउन पुग्ने बताए ।