मुगुको रारा किनारमा रारा समिट आयोजना

मुगु : मुगुको रारा तालको किनारमा दुई दिने रारा समिट सम्पन्न भएको छ ।
अन्तराल मिडिया नेपालगन्जको आयोजना तथा मुगुका छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका, मुगुम कार्मारोङ गाउँपालिका र खत्याड गाउँपालिकाको सहयोगमा आयोजित रारा समिटमा विभिन्न विषयका विज्ञहरुले स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया गरेका थिए । रारा तालको पर्यटन प्रवद्र्र्धन, जलवायु परवर्तनको असर र प्रभाव, उच्च भेगमा खाद्य असुरक्षा, मुगु तथा कर्णाली प्रदेशमा आर्थिक एवं अन्य विविध सम्भावना, अवसर र चुनौतीबारे समिटमा अलग अलग शत्रमा छलफल र अन्तरक्रिया गरिएको थियो ।

भूगोलको हिसाबले देशकै ठूलो कर्णाली प्रदेश विकास र अवसरका हिसाबले किन सधै पछाडि परेको छ भन्नेबारे समिटमा गहन विष्लेषण गरिएको थियो । रारा समिटका दशभन्दा बढी सत्रहरुमा कर्णाली प्रदेशको समग्र विकासको लागि आवश्यक राष्ट्रिय, क्षेत्रीय, स्थानीय रणनीति बनाउँदै खाका कोर्ने प्रयास गरिएको थियो । समिटबाट प्राप्त सुझाव, विचार एवं आवश्यकताहरुलाई प्रतिवेदनको रुपमा कर्णाली प्रदेश योजना आयोग र राष्ट्रिय योजना आयोगलाई हस्तान्तरण गरिनेछ ।
कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि मुगुका प्रतिनिधिसभा सदस्य ऐनबहादुर शाहीले रारा तालको समग्र विकासका लागि रारा गुरुयोजना तयार पार्ने प्रक्रिया सुरु भएको जानकारी दिएका थिए । राराको पर्यावरण जोगाउँदै स्थानिय जनताको जीवनस्तरमाथि उकास्न आवश्यक न्यूनतम पूर्वाधार र विकास निर्माणको लागि तिनै तहका सरकारले एकरुपताका साथ काम गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा जिल्ला समन्वय समिति मुगुका प्रमुख मञ्जन कार्की, छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भाम, सोरु गाउँपालिकाका अध्यक्ष धर्मराज शाही, खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाही तथा मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले मुगु जिल्लाको आवश्यकता तथा स्थानीय निकायका भावी योजनामाथि प्रकाश पारेका थिए ।

रारा क्षेत्रमा गीतसंगीत, कला तथा चलचित्रको महत्व तथा सम्भावना बारेमा गायिका स्वश्तिका शाही, चलचित्र निर्माता चक्रबहादुर चन्द, वृत्तचित्र निर्देशक देवकी बिष्टका साथमा रारा समिटमा छलफल गरिएको थियो । यस्तै मुगु जिल्लामा खेलकुदको विकास र व्यवसायीक खेलाडी उत्पादनको लागि नीतिगत तथा संरचनागत आवश्यकतामाथि पनि सरोकारवालाहरुले छलफल गरेका थिए ।

रारा समिटको आयोजक अन्तराल मिडियाका कार्यकारी अध्यक्ष जयनारायण शाहले रारा तालको पर्यावरण जोगाउँदै यस क्षेत्रलाई विश्वकै अद्भूत गन्तव्यको रुपमा विकास गर्न आयोजना गरिएको रारा समिटबाट प्राप्त सुझाव सम्बन्धित निकायसम्म पुर्याउँदै आगामी दिनमा कार्यक्रमको दायरालाई अझ फराकिलो पार्ने बताए ।