अग्रजका लागि त्याग गर्दा टंक धामी बने अध्यक्षको उम्मेदवार

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन २०८० मा समावेशी प्यानलबाट वर्तमान महासचिव चिरञ्जीवी ओली अध्यक्ष पदको उम्मेदवार बन्ने पक्कापक्की जस्तै रहेको धेरैको आँकलन थियोे । संघका प्रखर वक्ता ओली सबैका लागि निर्विकल्प नै थिए । ओलीको विकल्पमा अर्का शालिन ब्यक्तित्व कोषाध्यक्ष हरिलाल न्यौपाने पनि सर्वमान्य नै हुने चर्चामा थियोे । भागवण्डा मिल्दा संघको प्रवक्ता टंकबहादुर धामी त, कि महासचिव नभए अध्यक्ष वाहेकका पदाधिकारीमा चित्त बुझाउनु पथ्र्यो । पदाधिकारी पनि उनकोे भागमा नपर्न सक्थ्यो ।
ओली नेपालगन्ज पेट प्लाष्ट उद्योगमा पनि लगानी गरेपछि सेवामूलक संघको नेतृत्वबाट अलि पछि हटे । कोषाध्यक्ष न्यौपानेले पनि सुरुमा नेतृत्वमा रुची देखाएनन् । तेस्रो ब्यक्तिको रुपमा धामी प्रस्तावित भए । धामीले अग्रजकै नेतृत्वमा टिम बनाउन पहल गरे । उनी सफल भएनन् । अग्रजका लागि त्याग गरेकै कारण अध्यक्ष पदको उम्मेदवार हुने भाग्यमानी बने धामी । धामीले पदमा पुग्ने भन्दा राम्रो टिम बनाउन जोड दिए । समावेशी प्यानलको हाइकमाण्डका एक सदस्यका अनुसार ‘म प्रस्तावित भए पछाडि फकन्छ’ भनेर बाचा गराएकै कारण धामीलाई नेतृत्वमा पुग्ने परीक्षामा प्रत्यासी बन्ने अवसर आयो । प्यानलले धेरै समूहसँग समहतिको प्रयास गर्दा पनि धामीलाई निराश बनाउने गरी सहमति गरेन । बिहीबार दिउँसोे नेपालगन्जमा आयोजित कार्यक्रममा समावेशी प्यानलका प्रकाशन समिति संयोजक कोषराज रेग्मीले धामीकै नेतृत्वमा प्यानल घोषणा गरे ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अध्यक्ष अब्दुल वाहिद मन्सुरी, विशेष अतिथिद्वय समावेशी प्यानलका संरक्षक पार्वता आचार्य र संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले समावेशी प्यानलको उम्मेदवारलाई माला, टीका र खादा लगाएका थिए ।

अध्यक्षमा धामी, उपाध्यक्ष (उद्योग) चिरञ्जीवी ओली, उपाध्यक्ष (वाणिज्य) हरिलाल न्यौपाने, उपाध्यक्ष (महिला) मन्दिरा पाण्डे, महासचिव भीमबहादुर रानाभाट, उप–महासचिव मदनराज शर्मा र कोषाध्यक्ष पदमा सलाउद्दिन जसगढ घोषणा गरिएका छन् । सदस्यहरुमा इन्दिराकुमारी शाही, तोपबहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर विके, सुदन केसी, शिवराज वर्मा, धर्मेन्द्र सिंह ठटेर, टीकामणि उपाध्याय, डम्बरबहादुर चन्द र जमालुदिन अन्सारी चयन गरिएका छन् । वस्तुगत सदस्यद्वयमा अध्यक्ष, किराना व्यवसायी संघ, बाँकेका अध्यक्ष फणाधर भण्डारी र होटल व्यवसायी संघका अध्यक्ष रंगबहादुर खड्कालाई  चयन गरिएको छ ।
एशोसियट सदस्यद्वयमा कमल कार्की र राजीव तलङ्गालाई घोषणा गरिएको थियो । यद्यपि उम्मेदवार घोषणा गरिरहेकै बेला हलमा प्रवेश गरेका नेकपा (एमाले)का बाँकेका अध्यक्ष किश्मतकुमार कक्षपतिले समावेशी प्यानलका प्रकाशन समिति संयोजक कोषराज रेग्मीलाई एशोसियट बाहेकका नाम मात्र घोषणा गर्न आग्रह गरेका थिए । संयोजक रेग्मीले समावेशी प्यानलले सहमतिका आधारमा नै उम्मेदवार चयन गरेकाले आफूलाई दिएको जिम्मेवारी अनुसार एशोसियटको नाम रोक्न नमिल्ने जवाफ दिँदै कार्की र तलङ्गाको नाम घोेषणा गरेका थिए ।
निर्वाचन परिचालन समितिका संयोजक ईश्वर प्रसाद पोख्र्रेलको अध्यक्षता सम्पन्न घोषणासभामाप्रमुख अतिथि मन्सुरी, संरक्षण आचार्य, संघका निवर्तमान अध्यक्ष वैश्य र समावेशी प्यानलबाट अध्यक्ष पदका उम्मेदवार टंकबहादुर धामीले उद्योगी व्यवसायीहरुको हकहितका लागि समावेशी प्यानलका उम्मेदवारलाई जिताउन आव्हान गरेका थिए । अध्यक्षका उम्मेदवार धामीले निर्वाचनमा आफ्नो प्यानल निर्वाचित भए पहिलो कार्यक्रम नेपालगन्जको जमुनाहा नाकामा गएर सीमा नाका व्यवस्थित गर्न दवाब दिने प्रतिबद्धता जनाएका थिए । समावेशी प्यानलले सोही अवसरमा १७ बुँदे प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेको थियो ।