साझा प्रजातान्त्रिक समूहको प्रतिबद्धता घोषणा

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन २०८० का लागि साझा प्रजातान्त्रिक उद्योेगी व्यवसायी समूहले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
समूहले मंगलबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा समूहबाट अध्यक्षका उम्मेदवार ललितकुमार रौनियारले १८ बुँदे प्रतिबद्धता पत्र घोषणा गरेका हुन् । घोषणा कार्यक्रममा रौनियारले संघको यस अघिका दुई कार्यकालको नेतृत्वले उद्योगी व्यवसायीको हकहितमा मौन रहेको आरोप लगाए । उनले संघलाई सांसद र मेयरको उम्मेदवार बन्ने राजनीतिक दलले प्रयोग गरेको अर्को आरोप पनि लगाए । कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुनिलकुमार शर्माले निर्वाचनका बेला मात्र सदस्यता नविकरण गर्ने र त्यो नविकरण पनि उम्मेदवारले गर्नुपर्ने मानसिकता विकास हुँदै गएकोमा चिन्ता ब्यक्त गरे । उनले संघको सदस्यता गाउँगाउँमा विस्तार भएकोमा आपत्ति जनाए । उनले भने, ‘गाउँगाउँमा कुखुरा पाल्ने, तरकारी लगाउने र बँगुर पाल्नेलाई सदस्य बनाएर पाँच हजार सदस्य भएका छन् । विशुद्ध व्यवसायी मात्र संघ बनाउन हाम्र्रोे प्यानलले जितेमा दुई हजारदेखि पच्चीस सयसम्म मात्र सिमित गरिनेछ ।’
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा समूहका उपाध्यक्षका उम्मेदवारद्वय करिश्मा योगी र विष्णु श्रेष्ठले स्वागत र धन्यवाद ज्ञापन गरेका थिए । अध्यक्ष थापाले समूहले आर्थिक क्षेत्रको विकासका लागि अठोट पत्र सार्वजनिक गरेको बताए ।