५ वर्षपछि बाँकेमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता सुरु

कोहलपुर गोल्डकपको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै रेसिङ साहारा क्लब कोहलपुर र ए.पी.पावर चर्च व्वाईज यूनाइटेड काठमाडौंका खेलाडी 

नेपालगन्ज : बाँकेमा पाँच वर्षपछि राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता सुरु भएको छ ।
ए डिभिजनका राष्ट्रिय र अन्तर्राष्ट्रिय फुटबल क्लबको सहभागितामा बुधबारदेखि कोहलपुरमा मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता–२०८० सुरु भएको हो । बाँके जिल्ला फुटबल संघ (एन्फा) बाँकेले ०७५ जेठको तेस्रो साता तेस्रो नेपालगन्ज गोल्डकप आयोजना गरे यता जिल्लामा ठूला फुटबल प्रतियोगिता भएका थिएनन् । एन्फा बाँकेका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य भोजराज शाही कोरोनाकाल यता ठूला प्रतियोगिता नभइरहेको बेला मुख्यमन्त्री कोहलपुर गोल्डकप आयोजना गर्नुले खेल क्षेत्रको विकासमा टेवा पुग्ने बताउँछन् ।

कोहलपुर गोल्डकप उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुधबार दिउँसो फुटबल प्रतियोगिताको उद्घाटन गरेका थिए । उनले कोहलपुर गोल्डकपलाई प्रदेशको नियमित कार्यक्रममा समावेश गरिने बताए । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रसाद भट्टराई लगायतले कोहलपुर गोल्डकपलाई निरन्तरता दिन आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाएका थिए ।
कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा भएको उद्घाटन खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौँले आयोजक कोहलपुर रेसिङ सहारा क्लबलाई ट्राइब्रेकरमा ४ का विरुद्ध ५ गोलको अन्तरले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयभित्र गोल हुन नसकेपछि ट्राइब्रेकरमा आयोजकलाई स्तब्ध पार्दै चर्च ब्वाइजले विजयी सुरुवात गरेको हो । ब्वाइज क्लबका गोलकीप्पर अविशेक चौधरीले म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्रदान गरियो । बिहीबार गोर्खा व्वाईज स्पोर्ट क्लब बुटवल र सुदरपश्चिम–११ स्पोर्ट क्लब धनगढीबीच प्रतिस्पर्धा हुनेछ ।
खेल संयोजक रामबहादुर मल्लका अनुसार प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं, चर्च व्वाइज यूनाइटेड काठमाडौं, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम–११, स्पोर्ट्स क्लब धनगढी, कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेलाई आठ लाख रुपियाँ र दोस्रो पुरस्कार चार लाख सहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिता कार्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।