नेपालगन्ज उद्योग वाणिज्य संघले सदस्यता शुल्क ७९ प्रतिशतसम्म घटायो
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले आगामी २६ माघदेखि नेपालगन्जमा १२ दिने औद्योगिक महोत्सव आयोजना गर्ने भएको छ ।
संघको बिहीबार बसेको बैठकले आगामी माघ २६ देखि फागुन ८ गतेसम्म नेपालगन्ज महोत्सव–२०८० आयोजना गर्ने निर्णय गरेको प्रवक्ता डम्बरबहादुर चन्दले जानकारी दिए । कोरोनाकाल यता नेपालगन्जमा संघले महोत्सव गर्न सकेको थिएन ।
बैठकले संघले नयाँ सदस्यताका लागि हालसम्म लिँदै आएको प्रवेश तथा वार्षिक सदस्यता शुल्क व्यापक रुपमा घटाइएको महासचिव भीमबहादुर रानाभाटले बताए । महासचिव रानाभाटका अनुसार साधारण सदस्यतर्फ एक लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको पूँजीमा प्रवेश शुल्क पाँच सय र वार्षिक सदस्यता शुल्क एक हजार एक सय रुपैयाँ, २० लाख भन्दा माथि ५० लाख रुपैयाँसम्म प्रवेश शुल्क एक हजार र वार्षिक सदस्यता शुल्क दुई हजार एक सय र ५० लाख भन्दा माथिको पूँजीमा प्रवेश शुल्क एक हजार र वार्षिक सदस्यता शुल्क तीन हजार एक सय रुपैयाँ समायोजना गरेको छ ।
यसअघि संंघको १ साउन २०७८ यता लागू गरेको साधारण सदस्यतर्फ पाँच प्रकारले प्रवेश शुल्कमा कम्तीमा आठ सय रुपैयाँदेखि बढीमा चार हजार रुपैयाँसम्म र वार्षिक सदस्यता शुल्क कम्तीमा नौ सय ९०० रुपैयाँदेखि बढीमा चार हजार पाँच रुपैयाँँसम्म कायम रहेको थियो । एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म प्रवेश शुल्क आठ सय र वार्षिक सदस्यता शुल्क नौ सय, ५ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म प्रवेश शुल्क एक हजार तीन सय र वार्षिक सदस्यता शुल्क एक हजार चार सय, १० लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म दुई लाख चार सय, प्रवेश शुल्क र दुई हजार पाँच सय वार्षिक सदस्यता शुल्क, २० लाखदेखि ५० लाख रुपैयाँसम्म प्रवेश शुल्क तीन हजार पाँच सय र वार्षिक सदस्यता शुल्क तीन हजार नौ सय, ५० लाख भन्दा माथिको चार हजार प्रवेश शुल्क र चार हजार पाँच सय वार्षिक सदस्यता शुल्क कायम गरिएको छ ।
एशोसियट सदस्यतातर्फ प्रवेश शुल्कमा कम्तीमा ५० प्रतिशत कम गरिएको छ । त्यसैगरी एशोसियट सदस्यता शुल्क एक करोडभन्दा माथि जतिसुकै पूँजीको भए पनि प्रवेश शुल्क तीन हजार रुपैयाँ र वार्षिक सदस्यता शुल्क पाँच हजार बनाइएको छ । यस अघि ५० लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्म पाँच हजार र ६ हजार वार्षिक शुल्क थियो । त्यस्तै एक करोड भन्दा माथिको पूँजीमा ६ हजार रुपैयाँ प्रवेश शुल्क र ७५०० वार्षिक सदस्यता शुल्क थियो ।
सम्बद्ध सदस्यको हकमा भने प्रवेश शुल्क र वार्षिक सदस्यता शुल्क पाँच पाँच हजार गरिएको छ । सम्बद्ध सदस्यको शुल्क भने यथावत नै राखिएको हो । आगामी पौष समान्तसम्म विलम्व शुल्क नलिएर सदस्यता नविकरण गर्ने पनि निर्णय गरिएकोे छ ।
संघका अध्यक्ष टंकबहादुर धामी सदस्यतामा धेरै भन्दा धेरै उद्योगी व्यवसायीको पहुँच बृद्धि गर्न प्रवेश शुल्कमा ७९ प्रतिशतसम्म घटाएर समायोजन गरेको दाबी गर्नुहुन्छ । अध्यक्ष धामी संघको सदस्यता शुल्क महंगो भयो भन्ने व्यापक रुपमा आएको गुनासोलाई सम्बोधन गर्न घटाएको बताउनुहुन्छ ।
त्यसैैगरी बैठकले नेपाल सरकारबाट सडक विभागको भोगाधिकार प्राप्त १० बिघा जग्गा पुनः प्राप्तीका लागि प्रक्रिया सुरु गर्ने निर्णय पनि गरेको छ ।