करोड क्लबका गायक प्रकाश दुतराजको लाइभ कन्सर्ट नेपालगन्जमा !

नेपालगन्ज : पश्चिम नेपालका फिरन्ते अल्पसंख्यक जाति राउटे समुदायको कथा, कला, संस्कृति, माया, प्रेम र जीवनको कथामा आधारित रिमै गीतले दुई महिनामै शनिबार साँझसम्म युट्युबमा २५ मिलियन भ्यूज पाइसकेको छ । यो गीतमा चर्चित गायीका मेलिना राईकोे स्वर छ । त्यसो त,
दुई वर्ष अघि सार्वजनिक गरिएको ‘घर कता हो बैनीको’ गीतले त ३६ मिलियन भ्युज कटाइसकेको छ । गीतमा नारी स्वर चर्चित गायीका शान्तिश्री परियारको छ । दुई वर्ष अघिकै लाहुर जाने रेलैमा बोलको अर्को गीतले पनि युट्युबमा १९ मिलियन भ्यूज पाएको छ । यो गीतमा पनि शान्तिश्रीको साझेदारी छ ।
करोड क्लब पार गरेकी यी चर्चित तीन गीतका गायक हुनु, प्रकाश दुतराज । तिनै गायक दुतराजको लाइभ गीतसंगीत नेपालगन्जवासीले सुन्न र हेर्न पाउने भएका छन् । अंग्रेजी नयाँ वर्ष २०२४ लाई स्वागत गर्न नेपालगन्जको चार तारे होटल सिद्धार्थले आयोजना गरेको न्यू एयर इभ (साँस्कृतिक साँझ)मा गायक दुतराज आइतबार नेपालगन्जमा आउन लागेका हुन् ।
हरेक वर्ष नेपाली र अंग्रेजी नयाँ वर्षमा सांस्कृतिक कार्यक्रम गरेर मनाउने गरेको होटल सिद्धार्थले ग्राहकलाई सांगितिक साँझमार्फत मनोरञ्जन गर्न युवा पुस्तामा लोकप्रिय गायक दुतराजलाई नेपालगन्जमा ल्याउन लागेको सिद्धार्थ गु्रप अफ हस्पिटालिटीका क्षेत्रीय प्रबन्धक केशव न्यौपाने बताउँछन् । उनी भन्छन्, ‘गायक प्रकाश दुतराजको गीत धेरैले रुचाएका छन् । उहाँलाई नेपालगन्जमा ल्याएर उहाँका फ्यान र गीतसंगीतका पारखीलाई मनोरञ्जन प्रदान गर्नु नै हाम्रो उद्देश्य हो ।’

File Photo

म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनमा जन्मिएका गायक दुतराजका देउरालीमा धजा रिमै, घर कता हो बैनीको, लाहुर जाने रेलैमा, आरने, पछ्यौरीको तातो, तिरिरि मुरली बज्यो, तारेभीर, फूल लाउँथें शीरमा लगायत एक दर्जन भन्दा बढी गीत लोकप्रिय छन् । युवापुस्ताको रोजाइमा परेका दुतराजको हरेक गीतमा मौलिकता हुन्छ । सबै उमेर समूहकालाई लक्षित गरी गीतहरू पस्किने भएकाले नै लामो समयसम्म जिब्रोमा झुण्डिने उनका हरेक रचनामा फरक स्वाद हुने भएकाले नै संगीतका पारखीले उनलाई नै खोज्छन् । होटल सिद्धार्थको साँस्कृतिक साँझमा स्थानीय ब्याण्डसहित स्थानीय कलाकारको पनि विभिन्न रोचक प्रस्तुती रहनेछ । सिद्धार्थ होटेलले नयाँ वर्षको अवसरमा ग्राहकलाई आकर्षक छुटसहितका विभिन्न प्याकेज ल्याएको जनाएको छ ।