भ्रष्टाचारबिरुद्ध बाँकेका पेशाकर्मीबीचको मैत्रीपूर्ण फुटबल सुरु

नेपालगन्ज : बाँकेका पेशाकर्मीबीच भ्रष्टाचारबिरुद्धको मैत्रीपूर्ण फुटबल बुधबारदेखि नेपालगन्जमा सुरु भएको छ ।
नेपालगन्ज ग्यालरीको आयोजना तथा खबरगन्ज र बास नेपालको सह आयोजनामा भ्रष्टाचारबिरुद्ध मेरो एक गोल भन्ने मुल नारासहित फुटबल प्रतियोगिता आयोजन गरिएको हो ।
उद्घाटन खेल नेपाल बार एसोसियसन बाँके र बाँके पत्रकारबीच भएको थियो । दोश्रो खेल नेपालगन्ज उप महानगरपालिका र नेपालगन्ज उद्योग बाणिज्य संघ विच सम्पन्न भयो । पहिलो दिनको खेलमा पत्रकार टिम र नेपालगन्ज उद्योग बाणिज्य संघ विजयी भयो । पत्रकारको टोलीले नेपाल बार एसोसियसनलाई शुन्यका विरुद्ध दुई गोल गरे । पत्रकार कुमार श्रेष्ठ र गोविन्द शर्माले १ र १ गोल गरि टिमलाई विजयी बनाएका थिए । त्यस्तै बुधबार भएको दोश्रो खेलमा नेपालगन्ज उद्योग बाणिज्य संघले नेपालगन्ज उप महानगरपालिकालाई शुन्यका विरुद्ध ३ गोल गरि विजयी बन्यो । संघका तर्फबाट हरि प्रकाश विकले २ गोल गरे भने कर्ण थापाले १ गोल गरे । नेपालगन्ज ग्यालरीका संस्थापक समिर मान श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा खेलको उद्घाटन बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले गरेका थिए । प्रमुख जिल्ला अधिकारी पोखरेलले भ्रष्टाचार बिरुद्ध मेरो एक गोल भन्ने नारा नै उपयुत्त रहेको भन्दै पहिलो गोलकर्तालाई विशेष सम्मान सहित पुरस्कार प्रदान गरिने बताए ।