सहरी विकास मन्त्री नमुना भन्छिन्, ‘छिटो प्रतिफल दिने ठाउँमा लगानी गरौं’

कोहलपुर : लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले छिटो प्रतिफल दिने ठाउँमा लगानी गर्नुपर्ने बताएकी छन् ।
कोहलपुर बसपार्क र भ्यु टावर सञ्चालनका लागि शनिबार गरिएको अन्तरक्रिया कार्यक्रममा मन्त्री नमुनाले भनिन्, ‘योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्छ । भौतिक संरचना बनाउँदा त्यसबाट कति छिटो प्रतिफल लिन सकिन्छ भन्ने ख्याल गर्नुपर्छ । संरचना बन्नु आफैँमा नराम्रो नभएको बताउँदै उनले तर संरचना बनाउँदा त्यसबाट कति प्रतिफल लिन सकिन्छ भन्ने ख्याल गर्नुपर्ने बताइन् ।
कोहलपुरमा पर्यटकीय विकासको सम्भावना अत्यधिक भएकाले भविष्यका लागि यी संरचनाबाट फाइदा लिन सकिनेमा उनले जोड दिइन् । उनले आफू यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले यहाँको विकासका लागि हरसम्भव प्रयास जारी राख्ने प्रतिबद्धता पनि जनाइन् । बाँकेका कार्यालयहरू धमाधम अन्यत्र सरिरहेकोमा चिन्ता व्यक्त गर्दै उनले कोहलपुरमा यातायातको शाखा भए पनि ल्याउन आफूले प्रयास गरिरहेको बताइन् ।
यातायात कार्यालयको एउटा शाखा भए पनि कोहलपुरमा ल्याउन आफूले सम्बन्धित मन्त्रालयसँग छलफल सुरु गरिसकेको उनले जानकारी दिइन् । ‘कोहलपुरमा यातायातको एउटा शाखा कार्यालय जसरी पनि म ल्याउँछु । यो मेरो प्रतिबद्धता भयो,’ उनले भनिन्, ‘अब त्यो कहाँ राख्ने नगरपालिकाले त्यो ठाउँको व्यवस्थापन गरोस् ।’a