स्प्रिङ डेल स्कुलमा नमुना संयुक्त राष्ट्रसंघ सभा

नेपालगन्ज : बाँकेको स्प्रिङ डेल एकेडेमी नेपालगन्जले पश्चिम नेपालमै पहिलो पटक विद्यालय तहमा नमुना संयुक्त राष्ट्रसंघ सभाको आयोजना गरिएको छ ।
ब्रिटिस काउन्सिलबाट इन्टरनेशनल स्कुल अवार्ड पाएको नेपालगन्ज–१८ कारकाँदोको स्प्रिङ डेल स्कुलले शनिबार विद्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा एडीए मुनका महासचिव निशा रावलले नमुना संयुक्त राष्ट्रसंघ सभाको उद्घाटन गरेकी हुन् । आइतबार संयुक्त राष्ट्रसंघका वातावरण, आदिवासी जनजाति र बालअधिकार सम्बन्धी समितिका बैठक बसेर घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । नमुना संयुक्त राष्ट्रसंघ सभाको यूथ थिङ्कर सोसाइटीका सह अध्यक्ष क्षितिज भट्टराईले सहजीकरण गरिरहेका छन् ।
विद्यालयका प्राचार्य शरदचन्द्र रावलका अनुसार नमुना संयुक्त राष्ट्रसंघ सभामा कक्षा ८ देखि १२ कक्षासम्मका ६० जना विद्यार्थीले भाग लिएका छन् । उनीहरुले वातावरण प्रदुषण नियन्त्रण गर्न विद्युतीय गाडीको प्रयोगबारे आ आफ्नो देशको धारणा राख्नेछन् र आफ्नो मतमा अन्तर्राष्ट्यि समर्थन जुटाउनेछन् । नेपाल, भारत, पाकिस्तान, अमेरिका, केन्या लगायत २१ बढी देशको झन्डासहित प्रतिनिधित्व गरेका विद्यार्थीले देशको अवस्थाबारे संयुक्त राष्ट्रसंघ सभामा धारणा राख्नेछन् ।
‘संयुक्त राष्ट्र संघको महासभामा उठाइने समस्याहरुको समाधानको निम्ति कसरी छलफल हुन्छ र समस्याहरुको हल कसरी गर्दछन् भन्ने जानकारी नमुना संयुक्त राष्ट्रसंघ सभामा प्रस्तुत हुनेछ ।
प्राचार्य रावलका अनुसार नमुना संयुक्त राष्ट्रसंघ सभामा संयुक्त राष्ट्रसंघ साधारणसभा, विभिन्न समिति र उप–समितिका बैठकलगायत संयुक्त राष्ट्रसंघका विभिन्न संरचनामा विद्यार्थीले नेपाल लगायत संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रको प्रतिनिधित्व गर्नेछन् । संयुक्त राष्ट्रसंघको सभामा ती देशका राष्ट्र प्रमुख वा सरकार प्रमुखको रुपमा सहभागी भइ प्रतिनिधिहरुले आफ्नो, अन्तरदेशीय र विश्वका साझा समस्याहरु कसरी उठान गर्ने र समाधानका लागि दस्तावेज तयार गर्नेछन् । सभाबाट दस्तावेजहरु पारित गर्नेछन् ।