टीकापुरमा धनसिंहपुर युवा कप फुटबल सुरु

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा धनसिंहपुर युवा कप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ।
धनसिंहपुर युवा क्लबको आयोजनामा टीकापुर नगरपालिका-८ बटनपुर सुरु भएको प्रतियोगिताको उद्घाटन टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगरचीले गर्नुभएको हो। उद्घाटन गर्दै का.वा. नगर प्रमुख नगरचीले युवाहरू राष्ट्रको गहना भएको बताउनुभयो। उहाँले टीकापुर नगरपालिका सधैँ खेलकुद प्रतियोगिता गराउन अग्रसर रहेको बताउँदै आगामी दिनमा पनि नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो। खेलकुद प्रतियोगिता जति धेरै हुन्छ त्यति नै नयाँ खेलाडीको उत्पादन हुने हुँदा प्रतियोगिता निरन्तर हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

विशिष्ट अतिथि टीकापुर-८ का वडा अध्यक्ष दीर्घ ठकुल्लाले खेलाडी अनुशासित, मर्यादित र लगनशील हुनुपर्ने बताउँदै खेलाडी र अनुशासन एक अर्काको पर्याय भएको बताउनु भयो। टीकापुर-७ का वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेले खेलाडीलाई राज्यले उपेक्षा गरेको बताउनुभयो। जबसम्म खेलाडीलाई राज्यले प्रोत्साहन गर्दैन तबसम्म खेल र खेलाडी उँभो लाग्न नसक्ने उहाँको भनाइ थियो।
क्लबका कोषाध्यक्ष अजय चौधरीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा समाजसेवी धनसिंह साउँद, शेरबहादुर साउँद, मीनबहादुर कठायत, प्रेम विक, सामाजिक अभियन्ता कल्पेश कुँवर लगायतले प्रतियोगिता सफलताको कामना गर्नु भएको थियो ।

महर कृषि फर्मका भीम महरले खेलाडीलाई ड्रेस सहयोग गर्नुभएको थियो । कर्णबहादुर साउँदको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन चन्द्र साउँदले गर्नुभएको थियो।

प्रतियोगिताको उद्घाटन खेलमा कन्हैयापुर युवा क्लब भजनीले धनसिहपुर युवा क्लब सि लाई शून्यका विरुद्ध १ गोल गर्दै विजयी भएको थियो । फाइनल खेल कात्तिक २० गते हुनेछ । प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार नगदसहित शिल्ड र द्वितीय पुरस्कार ३१ हजार नगदसहित शिल्ड रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा १९ वटा क्लबको सहभागिता रहेको छ।