बालसुधार गृहमा स्कुलका मुद्दा लड्ने वकिल भन्छन्, ‘आदेशपछि अनुमति नदिए फेरि लड्छौंं’

नेपालगन्ज : बाँकेको जयेन्दु बालसुधार गृहलाई विद्यालय सञ्चालनको स्वीकृति र अनुमतिका लागि वकालत गर्ने कानुन व्यवसायीले उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासको आदेश कार्यान्वयन नगरे थप कानुनी उपचार खोज्ने बताएका छन् ।
सार्वजनिक सरोकारका मुद्दामा वकालत गर्न गठित पीआइएल कानुन व्यवसायीका समूहले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठले अदालतको आदेशबाट अब बालसुधार गृहभित्र विद्यालय सञ्चालनको स्वीकृति र अनुमति मिल्ने विश्वास ब्यक्त गरे । ‘अदालतको आदेशबाट अब विद्यालय सञ्चालन हुनेछ’, उनले भने, ‘आदेशपछि पनि विद्यालय सञ्चालनको अनुमति र स्वीकृति नदिए अदालतको अपहेलना सम्बन्धी मुद्दा दायर गर्नेछौं ।’
स्वीकृत विद्यालय नहुँदा बाल सुधार गृहमा रहेका बालकहरु शिक्षाको अधिकारबाट बञ्चित रहेको, बारम्बार माग गर्दा सुनुवाइ नभएको भन्दै कम्तीमा आधारभूत तहसम्मको अनुमति पाउनुपर्ने र दरबन्दीसहितको विद्यालयको स्वीकृति माग दाबी गर्दै दायर गरेको रिटमा अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र वसन्तराज पौडेलको संयुक्त इजलासले बुधबार बाँकेको डुुडुवा गाउँपालिका, लुम्बिनी प्रदेशको शिक्षा तथा सामाजिक विकास निर्देशनालय, निर्देशनालयका निर्देशकका नाममा परमादेश जारी गरेको थियो ।
अदालतको आदेशमा भनिएको छ, ‘बाल सुधार गृहभित्र विद्यालय सञ्चालन गर्ने सैद्धान्तिक सहमति रहेको भन्ने शिक्षा मन्त्रालय विद्यालय शिक्षा शाखाको २३ साउन २०६९ को पत्रबाट देखिन आएकाले जयेन्दु बालसुधार गृह नेपालगन्जबाट विद्यालय सञ्चालन स्वीकृति एवं अनुमतिको माग भएमा प्रचलित कानुन बमोजिम जो जे व्यवस्था मिलाउनु पर्ने हो मिलाइ निर्णय कार्यान्वयन गर्न गराउन विपक्षीहरुको नाममा परमादेशको आदेश जारी हुने ठहर्छ ।’
सार्वजनिक सरोकारका मुद्दामा वकालत गर्न गठित पीआइएल कानुन व्यवसायी समूहका तर्फबाट वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ, अधिवक्ताहरु लोकबहादुर शाह, वसन्त गौतम, विकास आचार्य, बलबहादुर चन्द, विश्वजीत तिवारी, केवल सिंह थारु र इन्सेकका अधिकृत विनोद पाण्डेले ४ साउ २०८० मा परमादेशको रिट दायर गरेका थिए ।
सामाजिक संस्था युसेप नेपालद्वारा बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरमा सञ्चालित जयेन्दु बाल सुधार गृहमा बाल बिझ्याइमा परेका २३८ बालक रहेकोकोमा सवा एक सय जना विद्यार्थी रहेको बालसुधार गृहका प्रमुख विमला काउचाले जानकारी दिइन ।