मन्त्री खत्रीलाई गृह जिल्लामा बाजागाजासहित सम्मान

नेपालगन्ज : लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीलाई गृह जिल्लामा बाजागाजासहित सम्मान गरिएको छ ।
मन्त्रीको रुपमा पदभार ग्रहणपछि पहिलो पटक गृह जिल्ला बाँकेमा आएका मन्त्री खत्रीलाई शुक्रबार जिल्लाबासीको तर्फबाट विभिन्न सामाजिक संघ संस्थाले स्वागत र सम्मान गरेका हुन् ।
मन्त्री खत्रीले विकासको नाममा भौतिक विकास मात्रै नभइ मानवीय विकासमा समेत प्रदेश सरकारले प्राथमिकतामा साथ काम गर्ने बताए ।
फियान नेपाल, खाद्य अधिकार सञ्जाल र याक नेपालले आयोजना गरेको खाद्य अधिकार सञ्जालको राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री खत्रीले कृषि र पर्यटनको विकास गर्न सके मात्र आर्थिक विकास र समृद्धि हुने भएकाले प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताउनुभयो । मन्त्री खत्रीले प्रारम्भिक शिक्षा ग्रहण गरेको गाउँ सीतापुर २ गौघाटस्थित योगिनी माविले बाजागाजासहित स्वागत, सम्मान र बधाई ज्ञापन गरेको थियो । मन्त्री खत्रीले आफुले प्रारम्भिक शिक्षा ग्रहण गरेको विद्यालय र आफु बसोबास गर्दै आइरहेको गाउँबासीका अपेक्षा पुरा गर्न पहल गर्ने बताए ।
यसैगरी मन्त्री खत्रीले नारी विकास केन्द्र नेपालगन्जले आयोजना गरेको स्वागत सम्मान तथा बधाइ ज्ञापन कार्यक्रममा मन्त्री खत्री सहभागी भएका थिए । केन्द्रको निर्णय अनुसार विपन्न बालबालिकालाई नगद छात्रवृत्ति, कुसन बनाउने तालिमका सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । शुक्रबार नै मन्त्री खत्रीलाई गैरसरकारी महासंघ बाँकेका तर्फबाट पनि सम्मान गरिएको थियो ।