राप्तीसोनारीमा रेडियो पत्रकारिता तालिम सम्पन्न

बैजापुर (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिकामा सञ्चालित आधारभूत रेडियो पत्रकारिता तालिम आइतबार सम्पन्न भएको छ ।
गाउँ गाउँमा रेडियो पत्रकार उत्पादन गर्न राप्तीसोनारी गाउँपालिकाको वडा नं. ३ को आर्थिक सहयोगमा रेडियो भुवर भवानी ९८.८ ले तालिम आयोजना गरेको हो ।

सहभागीहरुलाई पत्रकारिता, रेडियो पत्रकारिता, समाचार, रेडियो रिपोर्ट, रेडियो लाइभ, पत्रकार आचार संहिताबारे सैद्धान्तिक ज्ञान र प्रयोगात्मक अभ्यास गराइएको थियो ।
अन्नपूर्ण पोेस्ट् दैनिकका उपसम्पादक तथा मेरोखुसी डटकमका सम्पादक शंकरप्रसाद खनाल, बीबीसी नेपाली सेवाका सम्वाददाता विमला चौधरी र नागरिक दैनिकका संवाददाता अर्जुन ओलीले प्रशिक्षण दिएका थिए ।

तालिममा राप्तीसोनारीको वडा नं. २ र ३ का गरी २० जना किशोरकिशोरीको सहभागिता रहेको थियो । तालिम समापनको अवसरमा राप्तीसोनारी ३ का वडाध्यक्ष मीनकुमार चौधरीले प्रमाण पत्र वितरण गरेका थिए ।

वडाध्यक्ष चौधरीले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न गाउँगाउँबाट पत्रकारिता गर्न हौसला दिएका थिए । रेडियो भुवर भवानीका कार्यकारी प्रमुख अर्जुन ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीको तर्फबाट गणेश कुमाल र संचिता सुनारले तालिमबारे अनुभव सुनाएका थिए । उनीहरुले तालिमपछि रेडियोकर्मी बनेर काम गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।