सत्ती-कर्णाली सामुदायिक वनको वार्षिक कारोबार साढे १ करोड
मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा रहेको सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहले एक वर्षमा झन्डै साढे एक करोड रुपैयाँ बराबरको कारोबार गरेको छ ।
टीकापुर नगरपालिका वडा न ७ मा रहेको सामुदायिक वन समूहको शनिबार सम्पन्न ३१ औं वार्षिक साधारणसभामा लेखापाल मैनकला घर्तीले एक वर्षको अवधिमा एक करोड ३५ लाख ५७ हजार बराबरको कारोबार गरेको वार्षिक आयब्यय प्रस्तुत गरेकी हुन् । यो वनले बेत लगाएर बिक्री गर्छ ।
वन उपभोक्ता समूहका अध्यक्ष जीतराम चौधरीको अध्यक्षता भएको वार्षिक साधारणसभामा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु प्रमुख अतिथी रहेका थिए भने विशिष्ठ अतिथिमा टीकापुर नगरपालिका वडा न ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने र ६ का वडाध्यक्ष बलीराम चौधरी र वडा न ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला रहेका थिए ।
सामुदायिक वनले प्रत्येक वर्ष जेहेन्दार बालबालिकालाई छात्रवृति र शैक्षिक सामग्री वितरण गर्ने गर्दछ । सोही अनुसार यस वर्ष पनि २१ जना जेहेन्दार बालबालिकालाई छात्रबृति र शैक्षिक सामग्री वितरण गरेको छ । त्यसै गरि आफ्नो सेवा क्षेत्रका १५७ जना जेष्ठ नागरिकलाई पानी तताउने इलेक्ट्रिक केतली वितरण गरेको छ ।
कार्यक्रममा उपभोक्ताको तर्फबाट जगत ठकुल्ला, सामुदायिक रेडियो टीकापुर एफएमका स्टेशन मेनेजर एकेन्द्र तिमिल्सेना, भानु सामुदायिक पुस्तकालय सत्तीका अध्यक्ष मनिराम ढुङ्गाना, नेपाल रेडक्रस सोसाइटी नारायणपुरका सभापति धनसरी कोइराला, सामुदायिक सहकारी संस्थाका अध्यक्ष पलबहादुर बस्नेत, सामुदायिक वनका पूर्व अध्यक्ष धनसिंह साउँद, साबिक धनसिंहपुर गाविसका पूर्वअध्यक्ष जंगबहादुर साउँद लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
साधारण सभाका प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले नगरपालिकाले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहेको र नगरपालिका तथा स्थानीय स्तरको बजेटले सम्भव नभएकोले प्रदेश सरकार र संघीय सरकारको समेत सहयोग आवश्यक रहेकोले संघीय स्तरका राजनीति दलका प्रतिनिधिको समेत ध्यानाकर्षण गराउनका लागि सबै लाग्नु पर्ने बताए ।