मेयर कप फुटबल : युनाइटेड पुरुष र महिला टिम नै सेमिफाइनलमा प्रवेश

मोर्डन र युनाइटेड मेयर कपको सेमिफाइनलमा प्रवेश, छात्रा तर्फ नेपालगन्ज सेन्ट जेभियर्स र युनाइटेड अन्तिम चारमा
File photo

नेपालगन्ज : मोर्डन पब्लिक स्कुल र युनाइटेड एजुकेशन एकेडेमी मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बिहिबार प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा होप इन्टरनेशनल स्कुल र मोर्डन पब्लिक स्कुलबिच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल खेलमा ग्रीनपिस मावि कोहलपुर र युनाइटेड एजुकेशनल एकेडेमीबिच प्रतिस्पर्धा गर्नेछन् ।
नेपालगन्ज रंगशालामा बुधबार भएको पहिलो क्वाटरफाइनलमा मोर्डन पब्लिक स्कुलले मनकामना स्कुल नेपालगन्जलाई ५–० ले पराजित गरेको छ । मोर्डन पब्लिक स्कुलको तर्फबाट प्लेयर अफ द म्याच कविर विष्ट र सुशान्त थापाले समान २ गोल गर्नु भएको थियो भने प्रकाश बुढाथोकीले १ गोल गर्नु भयो । कविरले १३औं र ५८औं मिनेटमा गोल गर्नु भयो । सुशान्तले २८औं र ५०औं मिनेटमा गोल गर्नु भएको थियो भने प्रकाश बुढाथोकीले सातौं मिनेटमा गोल गर्नु भयो । प्लेयर अफ द म्याच कविर विष्टलाई वडा एचसीआरसी हस्पिटल नेपालगन्जका निर्देशक रमेश सिटौला र मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्दले पुरस्कृत गर्नु भयो ।
यसैगरी छात्र तर्फको अर्को खेलमा युनाइटेड एजुकेशन स्कुल नेपालगन्जले धम्बोझी मावि नेपालगन्जलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदैं प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय खेल गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा युनाइटेडको तर्फबाट प्रदिप बुढाक्षेत्री, अविशेष रेग्मी, तिलक ऐरी र निक्सन सुनारले गोल गर्नु भयो । धम्बोझीका समिर मगर, तुफान शाही र राज सोनमले गोल गर्नु भयो । खेलमा प्लेयर अफ द म्याच घोषित युनाइटेडका सुशान्त थापा क्षेत्रीलाई वडा प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुण बम र मदिरा व्यवसायी संघ बाँकेका अध्यक्ष मीम बहादुर सिंह ठकुरीले प्लेयर अफ द म्याचको ट्रफी प्रदान गर्नु भयो ।
यसैगरी छात्रा तर्फको खेलमा नेपालगन्ज सेन्ट जेभियर्स स्कुल नेपालगन्ज र युनाइटेडले जित हासिल गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपालगन्ज सेन्ट जेभियर्सले धम्बोझी माविलाई ३–० ले पराजित गरेको छ । नेपालगन्ज सेन्ट जेभियर्सको तर्फबाट सुवानी थापाले २ गोल र रमिता कुमारी बढुवालले १ गोल गर्नु भयो । सुवानीले ३३औं र ३९औं मिनेटमा गोल गर्नु भयो भने रमिता कुमारीले नवौं मिनेटमा गोल गर्नु भएको थियो । खेलमा नेपालगन्ज सेन्ट जेभियर्सकी खेलाडी सुवानी थापा प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो । उहाँलाई महिला फुटबल समिति बाँके अध्यक्ष नितु शाह चन्द र ब्लुम सेनेटरी प्याडको नेपालगन्जका लागि आधिकारिक विक्रेता सुर्य सप्लायर्सका प्रोप्राईटर सुमिन श्रेष्ठले पुरस्कृत गर्नु भएको थियो ।
छात्रा तर्फको अर्को खेलमा युनाइटेडले मनकामना स्कुललाई ७–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । युनाइटेडको जितको प्रकृति सुनारले ४ गोल, सुस्मिता रोकाले २ गोल र निरु गुरुङले १ गोल गर्नु भयो । प्रकृतिले छैठौं मिनेट, १५औं, २०औं, ३७औं मिनेटमा गोल गर्नु भएको थियो । सुस्मिताले ३६औं र ४१औं मिनेटमा गोल गर्नु भयो । निरु गुरुङले २५औं मिनेटमा गोल गर्नु भयो । खेलमा सर्वाधिक गोल गर्ने प्रकृति सुनार प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो । उहाँलाई नेपाली कांग्रेस बाँकेका सह–सचिव बिनोद थारु र शुभकामना मेडिकल हलका संचालक एवम् बाँके जिल्ला फुटबल संघका सदस्य दिपेन्द्र घलेले ट्रफी प्रदान गर्नु भयो ।
प्रतियोगिता अन्तर्गत बिहिबार छात्रा तर्फ पहिलो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन नेपालगन्ज मोडेल एकेडेमी र नेपालगन्ज सेन्ट जेभियर्स स्कुलबिच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल खेलमा युनाइटेड र आदर्श मावि नेपालगन्जबिच प्रतिस्पर्धा हुनेछ ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको छात्र तर्फ २१ टिम र छात्रा तर्फ ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल फागुन ३ गते हुनेछ ।