बाँकेमा कोहलपुर, बैजनाथ, राप्तीसोनारी, डुडुवा र खजुरामा पालिकाबीच सीमा विवाद

नेपालगन्ज : बाँकेका पाँच वटा स्थानीय तहबीच सीमा विवाद रहेको छ ।
जिल्ला समन्वय समिति बाँकेको समन्वयमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले मंगलबार नेपालगन्जमा आयोजना गरेको जिल्ला स्तरीय समन्वय तथा सल्लाहकार बैठकमा यस्तो विवाद सार्वजनिक भएको हो । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले डुडुवा गाउँपालिकाको वडा नं. ५ र राप्ती सोनारी गाउँपालिका वडा नं. ६ राप्ती नदीको बगरमा विवाद छ । चौधरीका अनुसार कोहलपुर नगरपालिका वडा नं. १ र बैजनाथ गाउँपालिका वडा नं. ४ बीच एउटा बस्ती नै सीमा विवाद छ । त्यस्तै खजुरा गाउँपालिकाको वडा नंं. ४ र बैजनाथ गाउँपालिकाको वडा नं. ७ मा पनि सीमा विवाद छ ।
कार्यक्रममा जिसस प्रमुख चौधरीले पालिकाबीचको सीमा विवाद समाधानका लागि आफूले पहल गरिरहेको जानकारी दिए । उनले जल, जंगल र जमिन सम्बन्धी बहुसरोेकारवाला विवाद समाधानमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले काम गरिरहेको जानकारी दिए ।
कार्यक्रममा संस्थाका रोहित चौधरीले जिल्लामा बहुसरोकारवाला ६ वटा विवाद समाधानको प्रक्रिया जारी रहेको बताए । जसमध्ये २ वटा विवादमा द्वन्द्व रुपान्तरण भइसकेको उनले प्रष्ट पारे ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिसस उपप्रमुख सीता कार्की, राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषा थारु, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, वडाध्यक्ष, वडा सदस्य, डिभिजन वन कार्यालय, नापी कार्यालय लगायतका विभिन्न निकायका जिम्मेवार ब्यक्तिहरुले पालिका पालिकाबीचको विवाद समाधानका लागि पहल गर्नुपर्नेमा जोड दिएका थिए ।