भेरी सहकारीको ३०औं वार्षिकोत्सवमा ३१ जनाद्वारा रक्तदान

नेपालगन्ज : बाँकेको भेरी सहकारी वित्तिय संस्था लिमिटेड नेपालगन्जको ३०औ स्थापना दिवसमा ३१ जनाले रक्तदान गरेका छन् । २०५२ साल चैत्र १ गते स्थापना भएको सहकारी स्थापना दिवसको पूर्वसन्ध्यामा लायन्स क्लब अफ नेपालगन्ज इनोेभेटिभको समन्वयमा शनिबार नेपालगन्जमा आयोजना गरिएकोे रक्तदान कार्यक्रममा ३० पुरुष र एक जना महिलाले रक्तदान गरेका हुन् ।

सहकारीका संस्थाका कार्यवाहक अध्यक्ष भीमबहादुर मल्लको अध्यक्षता, लायन्स क्लबका पूर्व गर्भनर मधुसुदन रिजालको प्रमुख आतिथ्यता र लायन्स क्लबका पूर्व गभर्नर तथा लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभका संस्थापक अध्यक्ष मुकुट ढकाल विशिष्ट अतिथि रहेको उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका निवर्तमान उप प्रमुख उमा थापा मगर, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलगायतले रक्तदानको आवश्यकता र महत्वबारे मन्तव्य दिएका थिए ।

वार्षिकोत्सवकै अवसरमा आयोजित ‘हामी स्वस्थ मुस्कान ल्याउँछौ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको निःशुल्क दन्त शिविरमा ३५ जनाले सेवा लिएका थिए । वार्षिकोत्सवको अवसरमा आइतबार मानव सेवा आश्रममा सन्ध्याकालिन भोजन र आश्रम भवन निर्माणार्थ आर्थिक सहयोग हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।