लायन्स डिस्ट्रिक ३२५ एनमा नयाँ गभर्नर चयनको प्रक्रिया सुरु
नेपालगन्ज : लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ एन नेपालमा नयाँ गभर्नर चयनको प्रक्रिया सुरु भएको छ ।
एरिया नं. ४ को नेपालगन्जबाट आइतबार गभर्नर पदका उम्मेदवार सुर्खेतका टीकाराम चपाइ, फस्ट भाइस डिष्ट्रिक गभर्नरका उम्मेदवार महेन्द्रनगरका डा. नेत्रराज चटौत र सेकेन्ड भाइस डिष्ट्रिक गभर्नरका उम्मेदवार बाँकेका चिन्तामणि धितालले उम्मेदवारी घोषणा गर्दै भोट मागेका थिए । लायन्समा तीन जना मात्र उम्मेदवार भए पनि आगामी ५ वैशाख २०८३ मा नेपालगन्जमा हुने महाधिवेशनमा उम्मेदवारले विजयी हुन कम्तीमा पनि ५१ प्रतिशत एस मत पाउनु पर्ने व्यवस्था छ ।
नेपालगन्जमा आइतबार साँझ आयोजित नामाङ्क कार्यक्रममा गभर्नर र भाइस गभर्नरले नेपालगन्जबाट चुनावी अभियान सुरु गर्दै एस मत मागेका थिए । कार्यक्रममा पूर्व गभर्नर शेमराज शाक्य, मधुसुधन शर्मा, सि.बी.चन्द र मुकुट ढकाललगायत सिनियर लायनकर्मीले पनि एस मत प्रदान गर्न आग्रह गरेका थिए ।









