दोस्रो योगिनी गोल्ड कप : राइजिङ स्टार क्लब र सीतापुर युनाइटेड विजयी

खजुरा : दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिता सोमबारको खेलमा राइजिङ स्टार क्लब र सीतापुर युनाइटेड बर्दिया विजयी भएका छन् ।
बाँके खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी माविको खेल मैदानमा भएको पहिलो खेलमा राईजिङ स्टार क्लबले २७ स्टार क्लबलाई १–० ले पराजित गरेको छ । खेलमा २७ स्टार क्लबको तर्फको आत्मघाती गोल भएको थियो । २७ स्टारका निशान्त मगरले खेलको २६औं मिनेटमा आफनै पोस्टमा गोल गर्नु भएको थियो । खेलमा राइजिङ स्टारका क्षितिज रानाले प्लेयर अफ द म्याचको ट्रफी जित्नु भयो । उहाँलाई जेष्ठ नागरिक सोक बहादुर खत्री र स्थानीय समाजसेवी तुलसी पुनले पुरस्कार प्रदान गर्नु भएको थियो ।

यसैगरी सोमबारको दोस्रो खेलमा सीतापुर युनाइटेडले मोर्डन एफसीलाई २–० ले पराजित गरेको छ । सीतापुर युनाइबाट पहिलो गोल खेलको २५औं मिनेटमा सुजन शाही ठकुरीले गर्नु भएको थियो भने दोस्रो गोल अरुण चलाउनेले ५७औं मिनेटमा गर्नुभयो । खेलमा सीतापुर युनाइटेडका संगम सारु मगर प्लेयर अफ द म्याच घोषित हुनुभयो । उहाँलाई आयोजक योगिनी युवा क्लबका संस्थापक उपाध्यक्ष नरेन्द्र भारती र सीतापुर सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष प्रेम थापाले ट्रफी प्रदान गर्नु भएको थियो ।
प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो खेल जय किसान स्पोर्टस क्लब सैनिक र मानवी स्पोर्टस क्लब नेपालगन्जबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल एक्स आर्मी लेजेन्ड र चन्द्र ज्योति युवा क्लबबिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक गणेश राईले बताउनु भयो ।
योगिनी युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा बाँके र बर्दियाका १३ टिमको सहभागिता रहेको छ ।