बाँकेमा विश्व रेडक्रस दिवस मनाइयो
प्रहलाद विश्वकर्मा । नेपालगन्ज
बाँकेमा विश्व रेडक्रस दिवस मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखा र विभिन्न उपशाखा र सर्कलहरुले विविध सन्देशमूलक कार्यक्रमहरुको आयोजना गरि दिवस मनाइएको हो ।
बाँके जिल्ला शाखा अन्तर्गत ८ वटै स्थानीय तहको कार्यक्षेत्रमा कुसुम, कचनापुर, सोनारी, गंगापुर, बेतहनी, कोहलपुर, बैजनाथ, खजुरा, सीतापुर, जानकी, बेलासपुर, पुरैनी, घरवारीटोल, पिप्रहवा, सदरलाइन, बाँकेबगिया र मनिकापुर गरी १७ वटा उपशाखा रहेका छन् ।
हरेक वर्ष ८ मे का दिन संसारभर मनाइले विश्व रेडक्रस दिवसको यो वर्षको नारा मानवताका लागि एकबद्ध होऔं भन्ने रहेको छ । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर विश्वका १९१ रेडक्रस तथा रेक्रिसेन्ट सोसाइटीहरुले यो दिवस मनाउने गर्दछन् । दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिका निवासी रक्तदाता फरमान अलि सिद्धिकी (सोनु)ले आफ्ना स्वार्गीय बुबा इरसाद अलि सिद्धिकीको (मुन्ना दाइ) को तेस्रो वार्षिक पुण्यतिथिको अवसरमा रगत राख्ने फ्रिजर नेरेसो प्रादेशिक रक्तसंचार केन्द्रलाई प्रदान गर्नु भएको छ ।

रेडक्रस बाँकेका सभापति गोवर्धन सिंह सम्झनाले दातालाई सम्मान गरि धन्यवाद व्यक्त गर्दै रेडक्रसका विभिन्न सेवा गतिविधिहरुमा स्वयंसेवकहरु एकबद्ध भई गर्दै आउनु भएको सहयोग उल्लेखनीय रहेको बताउनु भयो ।
कार्यक्रममा शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपमन्त्री तेजबहादुर सुवेदी, कार्य समिति सदस्यहरु अजीतकुमार शर्मा, सनतकुमार रेग्मी, सरिता ज्ञवाली, खगेसरी भण्डारी र सीता शर्मा पोख्रेल लगायत कर्मचारी र स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।








