बाँकेको बैजनाथ गाउँपालिकामा सञ्चालित डिजिटल पत्रकारिता तालिम सम्पन्न

नेपालगन्ज : बाँकेको बैजनाथ गाउँपालिकामा सञ्चालित तीन दिने डिजिटल पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजना तथा बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा सोमबारदेखि सञ्चालन भएको तालिम बुधबार सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौलागाईले डिजिटल प्रविधिको तीव्र विकाससँगै पत्रकारिताको स्वरूप परिवर्तन भइरहेको उल्लेख गर्दै पत्रकारहरूले तथ्यमा आधारित, जिम्मेवार र विश्वसनीय सामग्री उत्पादनमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । उहाँले डिजिटल माध्यमको प्रभावकारी उपयोग गर्दै समाजमा सकारात्मक सूचना प्रवाह गर्न तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष तथा महासंघ बाँके शाखाका अध्यक्ष गिरीले पत्रकारितामा नयाँ प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको बताउँदै ग्रामीण क्षेत्रका युवाहरूलाई डिजिटल पत्रकारितासँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै स्थानीय मुद्दा र जनचासोका विषयलाई प्रभावकारी रूपमा उठाउन सहभागीसँग आग्रह
गर्नुभयो ।
पत्रकारद्वय शंकरप्रसाद खनाल र प्रियास्मृति ढकालले सहजीकरण गरेको तालिमबाट डिजिटल समाचार लेखन, मोबाइल पत्रकारिता, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, फोटो तथा भिडियो सामग्री निर्माण लगायत विषयमा व्यवहारिक ज्ञान सिकाइएको थियो । प्रशिक्षार्थीका तर्फबाट अविरल परियार र गीता महताराले तालिम उपलब्धिमूलक भएको प्रतिक्रिया दिनुभएको थियो ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका सचिव कृष्ण ओलीका अनुसार तालिममा बैजनाथ गाउँपालिकाका आठ वटै वडाका ४० जना युवायुवतीहरूको सहभागिता रहेको थियो । तालिमको उद्घाटन सोमबार गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले गर्नुभएको थियो ।