आचार्यको आत्मकथा ‘आरोह अवरोह’को विमोचन
नेपालगन्ज : साहित्यकार किरण आचार्यले आत्मकथा ‘आरोह अवरोह’ लेख्नु भएको छ ।
असल शासन मिडियाद्वारा प्रकाशित उक्त कृतिको लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. विनोदप्रसाद ढकाल, लेखक आचार्य, आचार्यका पति प्रा.डा.जनार्दन आचार्य, वरिष्ठ साहित्यकार सनत रेग्मी, लेखक नरेन्द्रजंग पिटर, भाषा आयोगका निवर्तमान सदस्य गोपाल अस्क र असल शासन मिडियाका अध्यक्ष नमस्कार शाह लगायले मंगलबार नेपालगन्जमा संयुक्त रूपमा कृतिको विमोचन गर्नु भएको हो ।
आत्मकथामा आचार्यले आफ्नो जीवनका भोगाइ, संघर्ष, सफलता र असफलताका अनुभवलाई समेटिएको बताउनु भयो । उहाँले बाल्यकालदेखि शिक्षण पेशामा प्रवेश गर्दासम्मका अनुभव, पारिवारिक तथा सामाजिक चुनौती, जीवनमा भोगेका उतारचढाव र त्यसबाट सिकेका पाठलाई पुस्तकमा समावेश गरिएको जानकारी दिदै पुस्तक लेखनको उद्देश्य आफ्ना अनुभवलाई समाज र आगामी पुस्तासम्म पुर्याउनु रहेको उहाँको भनाइ थियो ।
पुस्तकमा आचार्यको बाल्यकाल, शिक्षण क्षेत्रका अनुभव, विभिन्न चुनौती र संघर्ष, सामाजिक तथा पारिवारिक जीवन, देशको राजनीतिक अवस्था, साहित्यिक यात्रा तथा जीवनका विविध आरोह–अवरोह समेटिएका छन् ।
विमोचन समारोहमा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. विनोदप्रसाद ढकालले आत्मकथा कुनै व्यक्तिको जीवन वृत्तान्त मात्र नभई समाज र समयको इतिहास पनि हुने बताउनुभयो ।
उहाँले आचार्यको जीवनयात्रा संघर्ष, समर्पण र निरन्तरताको उदाहरण रहेको उल्लेख गर्दै ‘आरोह अवरोह’ ले शिक्षा, समाज र राष्ट्रप्रतिको जिम्मेवारीबोधलाई समेत उजागर गरेको धारणा राख्नुभयो ।
वरिष्ठ साहित्यकार सनत रेग्मीले आचार्य नेपाली साहित्य र शिक्षा क्षेत्रमा परिचित तथा सम्मानित नाम भएको उल्लेख गर्दै आत्मकथाले एक महिलाको संघर्षशील जीवनको यथार्थ चित्रण गरेको दाबी गर्नुभयो ।
लेखक तथा राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले आत्मकथा लेखन साहसको विषय भएको बताउँदै आचार्यले आफ्ना जीवनका उतारचढावलाई निसंकोच रूपमा प्रस्तुत गरेको उल्लेख जिकिर गर्नुभयो ।
भाषा आयोगका निवर्तमान सदस्य गोपाल अस्कले पुस्तकले भाषा, साहित्य र समाजलाई जोड्ने काम गरेको बताउनुभयो ।
कार्यक्रममा हरित अभियन्ता हेमन्तराज काफ्लेले किरण आचार्यलाई सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र मानवीय मूल्यप्रति समर्पित व्यक्तित्वका रूपमा चित्रण गर्नुभयो ।
मंगलप्रसाद नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्ध्या गुप्ताले आचार्यको शैक्षिक नेतृत्व, अनुशासन र कार्यक्षमताको चर्चा गर्दै शिक्षा क्षेत्रको विकासमा उनको योगदान महत्वपूर्ण रहेको बताउनु भयो ।
असल शासन मिडियाका अध्यक्ष नमस्कार शाहले पुस्तकको प्रकाशन प्रक्रिया तथा विषयवस्तुबारे जानकारी गराउँदै ‘आरोह अवरोह’ ले जीवनका विविध अनुभव, संघर्ष र सफलताका कथाहरूलाई समेटेको जानकारी दिनुभयो । उहाँले पुस्तकले पाठकलाई जीवनका यथार्थ पक्ष बुझ्न र चुनौतीहरू सामना गर्न प्रेरित गर्ने विश्वास लिएको बताउनु भयो ।








