आज जनैपूर्णिमा, रक्षाबन्धन र नयाँ जनै लगाउनु भयो त ?
नेपालगन्ज : वैदिक सनातन धर्मावलम्बीले शुक्रबार जनैपूर्णिमा मनाइरहेका छन् । श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइन्छ । बिहानै नदी, ताल, पोखरी तथा अन्य जलाशयमा स्नान गरी गुरु पुरोहितबाट मन्त्रिएको रक्षासूत्र (रक्षाबन्धन) लगाइन्छ ।
ब्राह्मण, क्षेत्री र वैश्य समुदायका ब्रतबन्ध भएका ब्यक्तिले नयाँ यज्ञोपवीत धारण (जनै फेर्ने) परम्परा छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ । अर्को डोराको तीन वटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ ।
रक्षासूत्रलाई धार्मिक रूपमा नकारात्मक प्रभावबाट जोगाउने र सुरक्षा प्रदान गर्ने प्रतीकका रूपमा लिइन्छ। रक्षाबन्धनसँग जोडिएको धार्मिक मान्यताअनुसार देवता र दानवबीचको संघर्षका क्रममा गुरु बृहस्पतिले देवगणको रक्षाका लागि मन्त्रसहित डोरो बाँधिदिएको कथन पाइन्छ। यही परम्परालाई निरन्तरता दिँदै आज पनि पुरोहितले वैदिक मन्त्र उच्चारण गरेर यजमानको दाहिने नाडीमा रक्षासूत्र बाँध्ने चलन रहिआएको हो।
जनैपूर्णिमाका दिन गर्ने धार्मिक विधान छ। यसअघि विधिपूर्वक स्नान तथा शुद्धीकरण गरिन्छ र त्यसपछि जौ, तिल तथा कुश प्रयोग गरी ऋषिहरूलाई तर्पण दिइन्छ। कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्यलगायत ऋषिको पूजा तथा तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीसमेत भनिन्छ।
नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ। यसबाट दिदी बहिनी र दाजुभाईका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ।
जनैपुर्णिमाको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ। नेपालगन्जको शक्तिपीठ बागेश्वरीमा रक्षाबन्धन र जनै लगाउनेको घुँइचो रहेको छ ।









