आज श्रीकृष्ण जन्माष्टमी पर्व
नेपालगन्ज : विश्वभरका हिन्दु धर्मालम्वीहरुले आज श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा आराधना गरेर मनाउँदैछन् ।
देशभरका कृष्ण मन्दिरमा भव्यरुपमा पूजा, आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।
आजको दिनमा विशेष गरी महिलाहरु ब्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रसन्न भई मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भागवत गीता हो । श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रुपमा समेत मनाउने गरिन्छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ।








