एनपीएल : जितेर पनि विराटनगरको दोस्रो हार

नेपालगन्ज : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) छैटौं खेलमा जितेर पनि विराटनगर किंग्सले हार बेहोरेको छ । बिहीबार राति सम्पन्न छैटौँ खेलमा कर्णालीले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १८६ रन बनाएको थियो । लोकेश बमले ५२ बलमा ८७, एन्जेलो म्याथ्युजले २३ बलमा ३१ तथा आन्द्रे रसेलले १५ बलमा २७ रन जोडेका थिए । यो रन स्कोर तेस्रो संस्करणकै सर्वाधिक हो । दोस्रो इनिङ सुरु नहुँदै धेरैले विराटनगरले जित दर्ज गरेको टिप्पणी सुरु गरिसकेका थिए । किन भने यस अघि विराटनगर र चितवन राइनोजबीचको खेलमा सर्वाधिक रन १५७ रहेको थियो । तेस्रो खेलमा १३३ रनको चुनौती दिएर ११३ रनमा समेटेको थियो ।
विराटनगरले हालसम्मकै सर्वाधिक १८७ रनको चुनौती खडा गरे पनि कर्णालीले १९ ओभर ५ बलमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । कर्णालीको जितमा कप्तान कप्तान सोमपाल कामीको योगदान महत्वपूर्ण भयो । कामीले ३३ रन खर्चेर ४ विकेट र ३२ बलमा अविजित रहँदै ६२ जोड्नु भएको थियो । गुल्शन झाले २१ बलमा अविजित रहँदै २८ रन बनाउनु भयो। त्यस्तै पवन सर्राफले २८ बलमा ३६ रन र अरिफुल स्लामले १२ बलमा ३२ रन बनाउनु भयो । एन्जेलो म्याथ्युजले ३ विकेट लिनु भएको थियो ।

कर्णालीले पहिलो खेलमा जनकपुरलाई हराएको कर्णालीको यो दोस्रो जित हो । विराटनगर भने यस अघि चितवन राइनोजसँग पराजित भएको थियो । उसको यो दोस्रो हार हो ।
बिहीबार नै भएको पाँचौँ खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई सहजै ८ विकेटले पराजित गरेको थियो । ११६ रनको चुनौती पछ्याएको जनकपुरले १७ ओभर २ बलमै २ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

यसअघि चौथो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्समाथि १९ रनको रोमाञ्चक जित निकालेको थियो । १३३ रनको चुनौती पछ्याएको जनकपुरले ३ बल खेल्न बाँकी छँदै अलआउट भएर ११३ रनमात्र बनाउन सक्यो ।
दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि ८ रनको सनसनीपूर्ण जित हासिल गर्यो । १५८ रनको चुनौती पछ्याउने क्रममा विराटनगरले १४९ रनमात्र बनाउन सक्यो । पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो ।