एनपीएल : चितवन दोस्रो क्वालिफायरमा प्रवेश

नेपालगन्ज : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोज दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा बुधबार भएको एलिमिनेटरमा कमिल मिशाराको शानदार शतक र बलरहरुको उत्कृष्ट प्रदर्शनमा चितवनले काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ओपनिङ ब्याटर कमिशल मिशाराको अविजित शतक(१२०) र कप्तान रवि बोपाराको अर्धशतक (५३ रन)को मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो ।
२०५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा आएको काठमान्डुले पूरै २० ओभर ब्याटिङ गरे पनि ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।
चितवनले अब फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ । यस खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।