१०औं राष्ट्रिय खेलकुद : नेपालगन्जमा भोलिदेखि पौडी स्पर्धा हुँदै

नेपालगन्ज : १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबारदेखि नेपालगन्ज रंगशाला परिसरको पौडी पोखरीमा पौडीका स्पर्धा हुने भएका छन् ।
प्रतियोगितालाई व्यवस्थित, मर्यादित र सफलतापूर्वक सम्पन्न गर्न नेपाल पौडी संघ र नेपालगन्ज स्विमिङ क्लबले आपसी सहकार्यमा आवश्यक व्यवस्थापकीय तयारी पूरा गरेको संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठ बताउनु हुन्छ ।
नेपालगञ्जस्थित नेपालगञ्ज पौडी पोखरीमा आयोजना हुने प्रतियोगितामा देशका सातै प्रदेश, विभागीय टोली तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) सहित ११ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा करिव २०० खेलाडीबीच ४६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पदक विजेता खेलाडीहरूले पाकिस्तानमा आयोजना हुने आगामी दक्षिण एसियाली खेलकुद (साउथ एसियन गेम्स) मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।