लकडाउनमा रेडियोबाट औपचारिक शिक्षा : नेपालगन्जको रेडियो कृष्णसारबाट हप्तामा ५ दिन, दैनिक २ घण्टा पढाइ हुने

 नेपालगन्ज :  लकडाउन मा विद्यालय जान नपाएका पश्चिम नेपालका विद्यार्थीले रेडियोबाटै औपचारिक शिक्षा लिन पाउने भएका छन् ।

सेभ द चिल्ड्रेन, प्लान नेपाल, स्याक नेपाल र सामाजिक विकास मञ्चको आर्थिक सहयोगमा नेपाल शिक्षक महासंघ, नेपालगन्ज उपमहानगरपालिका, खजुरा, बैजनाथ र जानकी गाउँपालिकासँगको साझेदारीमा नेपालगन्जको सामुदायिक रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जबाट आइतबारदेखि माध्यमिक तहको पाठ्यक्रममा आधारित ‘रेडियो स्कुल कक्षा’ कार्यक्रम उत्पादन तथा प्रसारण हुन लागेको हो । रेडियो कृष्णसार प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका एक दर्जनभन्दा बढी जिल्लाहरुमा सुन्न सक्नेछन् ।
यो कार्यक्रम रेडियो कृष्णसारका साथै रेडियोको अनलाइन कृष्णसार अनलाइन डटकम डट एनपी र कृष्णसार एफएमको फेसबुक पेजबाट एकै साथ दिउँसो ३ देखि ५ बजेसम्म प्रसारण हुने रेडियोका स्टेशन प्रमुख तुला अधिकारीले बताए । उनका अनुसार रेडियो स्कुल कक्षा शुक्रबार र शनिबार बाहेक सातामा ५ दिन दैनिक दुई घण्टा प्रसारण हुनेछ ।
दिउँसो ३ बजे कक्षा ५ सम्मको र ३ बजेर ४० मिनेटमा कक्षा ६, ७ र ८ को आधारभूत तहका कक्षा सन्चालन हुनेछन् । यस्तै अपरान्ह ४ बजेर २० मिनेटदेखि ५ बजेसम्म कक्षा ९ र १० को माध्यमिक तहका मुख्य पाँच विषयहरु पढाइ हुनेछन् । आइतबार नेपाली, सोमबार अंग्रेजी, मंगलबार विज्ञान, बुधबार गणित र बिहीबार सामाजिक विषयका सबै तहका विद्यार्थीहरुले नियमित रेडियो स्कुल नमूना कक्षामार्फत् घरमैं बसेर कक्षा लिन र प्रश्नउत्तरमा सहभागी हुन सक्नेछन् ।
रेडियो कक्षामा विद्यार्थी सहभागिता सुनिश्चित गर्न/गराउन स्थानीय तहका शिक्षा शाखा, शिक्षक महासंघले पहल गर्नेछन् भने रेडियोमार्फत् सूचना प्रसारण गरिने बताइएको छ । नेपाल शिक्षक महासंघले बाँकेका विभिन्न सामुदायिक विद्यालयमा लामो समयदेखि अध्यापन गराइरहेका झण्डै दुई दर्जन अनुभवी शिक्षकहरुको रोष्टर बनाएर जिम्मेवारी दिने भएको छ ।