नेपालगन्जका मुख्य चोकमा आगो ताप्ने ब्यवस्था

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले मुख्य चोकहरुमा आगो ताप्ने ब्यवस्था गरेको छ ।
अत्याधिक जाडो बढेपछि मंगलबार साँझ त्रिभुवन चौकबाट यसको सुरुवात गरिएको हो । नगर प्रमुख डा. धवलशम्शेर राणा, प्रमुख जिल्ला अधिकारी सूर्यवहादुर खत्री, उपप्रमुख उमा थापा मगर, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीलगायतको उपस्थितिमा नेपालगन्जका मुख्य चोकमा आगो ताप्ने ब्यवस्था गरिएको हो । आगो ताप्नका लागि डम सहित मुख्य चौकहरुमा सुरक्षित रुपमा दाउरा बाल्ने ब्यवस्था गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार मंगलबार ५० वटा डमसहित चौकहरुमा दाउरासहित आगो ताप्ने ब्यवस्था मिलाइएको छ । बुधबारदेखि आवश्यक थप स्थानमा समेत आगो ताप्ने ब्यवस्था मिलाइने सुवेदीले बताए । जाडो बढेपछि उपमहानगरपालिकाको शिक्षा शाखाले शिशु कक्षादेखि कक्षा ५ सम्मको पढाइ २४ पुससम्म बन्द गर्ने निर्णय गरेको सोमबार दिउँसो घाम लागे पनि मंगलबार दिनभर बाक्लो हुस्सु कुहिरो लागेको थियो । जसका कारण जनजीवन कष्टकर बनिरहेको छ ।