नगर प्रमुख विष्टद्वारा नेपालगन्जमा साइकल लेन बनाउने घोषणा

नेपालगन्ज : तराईको पहिलो सहर नेपालगन्जमा पनि साइकल लेन बन्ने भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकका नगर प्रमुख प्रशान्त विष्टले नगरमा साइकल लेन बनाउने घोषणा गरेका छन् ।
विश्व साइकल दिवसका अवसरमा नेपालगन्ज साइक्लिङ क्लबले शुक्रबार नेपालगन्जमा आयोजना गरेको साइकल -यालीको शुभारम्भ गर्दै नगर प्रमुख विष्टले आगामी आर्थिक वर्षको बजेटमै साइकल लेनका लागि बजेट विनियोजन गर्ने बताएका हुन् । कार्यक्रममा क्लबका अध्यक्ष सतिश निरौलाले नेपालगन्जमा साइकल लेन बनाउन जरुरी रहेको भन्दै ध्यानाकर्षण गरेपछि नगर प्रमुख विष्टले भने, ‘प्रदुषणरहित वातावरणका लागि पनि साइकल चलाउन जरुरी छ । आगामी आर्थिक वर्षमा तत्काल थोरै भए पनि साइकल लेन बनाउन सरोकारवालासँग छलफल गरेर बजेट तर्जुमा गर्नेछौंं ।’ साइकल -यालीले नगर परिक्रममा गरेको थियो । क्लबले रक्तदान कार्यक्रम पनि गरेको थियो । ललितपुर महानगरपालिकालगायत देशका केही प्रमुख सहरमा साइकल लेन सञ्चालनमा छ ।