बर्दियामा भासिएको जब्दीघाट पुल ठेकेदारकै खर्चमा बनाइदै

गुलरिया : बर्दियाको गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीमा भासिएको जब्दीघाट पुल ठेकेदारकै खर्चमा बनाउन थालिएको छ ।
डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसीका अनुसार निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनकै खर्चमा पुलको त्रुटी सच्याउने कार्य सुरु भएको हो । निर्माण कम्पनीले पुलको भासिएको जग अर्को बनाउने र पानीको सतह कम भएको बेला पुल माथि उठाउने बताए । ‘तलको फाउन्डेसनको काम वर्षायाम सुरु हुनु अगाडि नै हुनेछ’ उनले भने ‘नदीमा पानी बढयो भने वर्षापछि पुलको अरु काम हुनेछ ।’
हाल बबईको पानी डाइभर्सन गरिएको छ । पुलको पाइलिङ कम्पेसन अन्तर्गत १६ मिटर खाडल खनेर बनाइएको जगमा पिलर ठाडो पारिनेछ । पिलरमाथि भासिएको प्लेटलाई क्रेनबाट उठाएर राखिने निर्माण कम्पनीले जनाएको छ । कूल १६ करोड ६८ लाख रुपैयाँको लागतमा बनेको उक्त पुल २०७४ साउनमा आएको बाढीबाट हस्तान्त्रण नहुँदै भासिएको थियो ।