बाँकेमा जन्मेका नवजात शिशुमध्ये एक तिहाइ बढीको मृत्यु

नेपालगन्ज : बाँकेमा कूल जन्मेका शिशुमध्ये एक तिहाइ बढीको मृत्यु हुने गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको नवजात शिशु सम्बन्धी पत्रकार अन्तरक्रिया कार्यक्रममा दिइएको जानकारी अनुसार गएको तीन आर्थिक वर्षमा जिल्लामा एक हजार ५०९ जना शिशु जन्मेकोमा ५७९ जना शिशुको मृत्यु भएको पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठले जानकारी दिइन् । जुन कूल जन्मेका शिशुमध्ये मृत्यु हुने ३८.३६ प्रतिशत हो । सन्तान जन्माउने १०९ जना आमाले पनि ज्यान गुमाएका छन् । कूल सन्तान जन्माउने आमामध्ये मृत्यु हुने ७.२२ प्रतिशत हो ।
परिवार नियोजनका साधनको प्रयोग बढेको भन्दै अघिल्लो वर्ष नेपालमा शिशु र मातृमृत्युदर घटे पनि बाँकेमा भने बालमृत्यु र मातृमृत्यु दर घटेको छैन । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह माग अनुसार स्थानीय तहका स्वास्थ्य शाखाले परिवार नियोजनका अस्थायी साधन उपलब्ध गराउन नसकेको बताए ।
कार्यक्रममा भेरी अस्पताल नेपालगन्जकी स्त्रीरोग विशेषज्ञ डा.कल्पना थापाले नियमित रुपमा ४ पटक गर्भजाँच नगराउने र व्यथा लागेर गम्भीर अवस्थामा पुगेपछि अस्पताल आउने भएकाले समस्या नै पत्ता लगाउन नसकेर नवजात शिशु र सुत्केरी महिलाको ज्यान जाने गरेको बताइन् । मृत्यु हुने सुत्केरीमध्ये धेरैको रक्तश्रावका कारण हुने गरेको छ । जिल्लामा १९ वर्षदेखि ३५ वर्षका आमाहरुले ज्यान गुमाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।