डुडुवाको ४ तले भवनको ९० प्रतिशत काम पूरा

कम्दी : बाँकेको डुडुवा गाउँपालिकाको निर्माणाधीन कार्यालय भवनको ९० प्रतिशत काम सम्पन्न भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, प्राविधिक प्रमुख प्रकाश थापा, योजना शाखा प्रमुख ओमबहादुर राना क्षेत्री लगायतको टोलीले शनिबार अनुगमनको क्रममा गाउँपालिका भवनको निमार्ण कार्यको ९० प्रतिशत कार्य पूरा भएको ठेकेदार कम्पनीले जानकारी दिएको हो ।
१३ करोड २६ लाख रुपैँया लागतमा रोयल कन्सट्रक्सन धनगढीले ठेक्का लिएर निर्माणाधीन भवन २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । डुडुवा ३ वनकट्टीमा २० कठ्ठा जग्गामा चार तल्ले भवनमा चार सय जना क्षमता भएको ठूलो सेमिनार हल, सानो सभाकक्ष, ३२ वटा कोठा, स्टोर कोठा, शौचालय, बाउण्ड्री, ठूला तथा साना सवारीका लागि पार्किङ्ग, सेवाग्राहीका लागि प्रतिक्षालय, गार्डरुम रहेको छ । भवनमा लिफ्ट पनि जडान हुनेछ ।