किसानलाई मल बीउ उपलब्ध गराउन एमाले बाँकेको माग

नेपालगन्ज : नेकपा (एमाले) बाँकेले किसानका लागि तत्काल सहज रुपमा मल, बीउ उपलब्ध गराउन माग गरेको छ ।
जिल्ला कमिटी बैठकको निर्णय सार्वजनिक गर्न आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष किस्मतकुमार कक्षपतिले सस्तो र सहज रुपमा धानको बीउ उपलब्ध गराउन स्थानीय निकाय र सरोकारवालासँग माग गरे । अध्यक्ष कक्षपतीले भने ‘किसानका लागि अति आवश्यक मल तत्काल उपलब्ध गराउन सरकारसँग माग गर्दछौ ।’ उनले किसानले भारतबाट खरिद गरेको मललाई स्थानीय प्रशासनले धरपकड र दुव्र्यवहार गर्ने गरेको बताउँदै त्यसलाई तत्काल बन्द गर्न आग्रह गरे ।
बैठकले गत वर्षको बेमौसमी वर्षातका कारण किसानको धान बालीमा भएको क्षति स्वरुप भुक्तानी गर्नुपर्ने रकम एक हप्ताभित्र उपलब्ध गराउनु पर्ने, कृषि सिँचाइका लागि नियमित रुपमा विद्युत आपूर्ति हुनुपर्ने, अघोषित लोडसेडिङ बन्द हुनुपर्ने लगायतका माग गर्ने निर्णय गरेको अध्यक्ष कक्षपतिले जानकारी दिए ।
एमालले किसानलाई समयमै मलखाद उपलब्ध गराउन दवाब दिने उद्देश्यले असार १२ गते जिल्ला प्रशासन कार्यालय बाँके घेराउ गर्न लागिएको एमाले बाँकेका सचिव रत्न खत्रीले बताए ।
वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा बाँके जिल्लामा राज्यका निकायबाट ठाडो हस्तक्षेप भएको पत्रकार सम्मेलनमा एमाले बाँकेले दावी गरेको छ । बाँकेका प्रमुख निर्वाचन अधिकृत, जिल्ला प्रहरी प्रमुखलगायत राज्यका निकायबाट ठाडो हस्तक्षेपको घोर विरोध गर्दै आगामी दिनमा यस्ता कार्य नगर्न एमालेले माग गरेको छ ।