आर्थिक विकासको योजना बनाउँदै नेपालगन्ज उपमहानगर

नेपालगन्जमा आर्थिक विकास रणनीति तर्जुमा सम्बन्धी प्रारम्भिक कार्यशालामा धारणा राख्दै नगर प्रमुख प्रशान्त विष्ट

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका आर्थिक विकासको रणनीतिक योजना निर्माणमा जुटेको छ ।
जीआइजेडको सहयोगमा उपमहानगरपालिकाले आइतबार नेपालगन्जमा आर्थिक विकास रणनीति तर्जुमा सम्बन्धी प्रारम्भिक कार्यशाला आयोजना गरेर आर्थिक क्षेत्रका सरोकारवालाबीच छलफल सुरु गरेको हो ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सधैं भरी आर्थिक श्रोतका लागि संघ र प्रदेशको मुख ताकेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि स्थानीय आवश्यकताका आधारमा योजना बनाएर आर्थिक गतिविधिमा केन्द्रीत हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘अबदेखि नेपालगन्जमा रणनीतिक र योजनाबद्ध हिसावले काम अघि बढाइनेछ । नेपालगञ्ज आर्थिक नगरी भएका कारण यसले आर्थिक पाटोलाई मुख्य प्राथमिकता दिने गरेको छ ।’ नेपालगन्जमा हुने आर्थिक गतिविधिले समग्र प्रदेशलाई लाभ पुग्ने भन्दै यहाँ हुने आर्थिक क्रियाकलाप अनिवार्य उपमहानगरपालिकामा अभिलेखीकरण हुनुपर्ने उनको भनाइ थियो ।
उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा रहेको अवस्थामा आर्थिक क्षेत्रका सरोकारवालासँग आर्थिक विषयमा छलफल हुनु महत्वपूर्ण उपलब्धी भएको बताए ।
उपमहानगरपालिकाको आर्थिक विकास समितिका संयोजक एवं वडा नम्बर ४ का वडाध्यक्ष गोपाल पुनले आर्थिक क्षेत्र विकासको मेरुदण्ड भएको भन्दै योजना कार्यान्वयन हुने खालको निर्माण गरिने बताए ।
उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशी नेतृत्वको कार्यदलले तयार पारेको आर्थिक विकास रणनीति सम्बन्धी प्रारम्भिक मस्यौदा परामर्शदाता तेजहरि घिमिरेले प्रस्तुत गरेका थिए । मस्यौदामाथि नगरमा आर्थिक विकासका सम्भावना, अवसर र चुनौतीबारे सरोकारवालाबीच छलफल भएको थियो ।