नेपालगन्जको ‘रामलीला मैदान’मा बन्नेभयो १०८ फिटको हनुमानको मूर्ति, लागत कति ?

भारतको गुजरात राज्यको मोरबीमा निर्माण गरिएको १०८ फिटको हनुमानको मूर्ति । फोटो इन्टरनेटबाट

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको रामलीला मैदानमा १०८ फिटको हनुमानको मूर्ति स्थापना गरिने भएको छ ।
नगर प्रमुख प्रशान्त विष्टले बिहीबार आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रममा नेपालगन्ज सहरको फरक पहिचान हुने गरी १०८ फिटे हनुमान मूूर्ति निर्माण कार्य अगाडि बढाइनेछ भन्ने उल्लेख छ । कहाँ स्थापना गर्ने भन्ने नीति तथा कार्यक्रमले स्पष्ट पारेको छैन । ११औं नगर सभा सकिए लगत्तै भेरी प्राविधिक शिक्षालय परिसरमा मेरो खुसीले नगर प्रमुख विष्टलाई सोध्दा उपयुक्त जग्गाको खोजी भइरहेको बताएका थिए । सम्भावित ठाउँ कहाँ हो त भनेर थप जिज्ञासा राख्दा नगर प्रमुख विष्टले भने, ‘रामलीला मैदानमा पनि हुनक्छ ।’ यद्यपि स्थान र बजेटको भने उपमहानगरपालिकाले टुंगो लगाइसकेको छैन ।
म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौरमा पनि १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माणाधीन छ । ५ असोज २०७६ मा विश्व शान्ति राष्ट्र कल्याण एबम् पितृमुक्ति श्रीमद भागवत महापुराण ज्ञान महायज्ञका अवसरमा समाजसेवी रामबहादुर गौतमले हनुमान मूर्तिको शिलान्यास गरेका हुन् । मूर्तिको निर्माण कार्य जारी छ । महायज्ञबाट संकलित रकमबाट निर्माण गरिने भए पनि यसको लागत खुलेको छैन ।
भारतको गुजरातमा पनि हनुमानको १०८ फिटको हनुमानको मूर्ति स्थापना गरिएको छ । मोरबीको बापू केशवानन्द आश्रम परिसरमा १० करोड भारु (नेपाली १६ करोडमा)मा निर्माण गरिएको हो । गत अप्रिलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए ।