बैजापुरमा ५७२ जनाको नमूना जाँच गर्दा ५ सिकलसेलका बिरामी र ५८ वाहक फेला

नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका–४ मा ५७२ जनाको रगतको नमूना परीक्षण गर्दा ५ सिकलसेलका रोगी र ५८ जना वाहक फेला परेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जेठ २५ गतेदेखि असार ११ गतेसम्म सञ्चालन गरेको सिकलसेल तथा थालेसेमियाको उपचार तथा परामर्श स्वास्थ्य शिविर गरेको थियो । कार्यालयका अधिकृत नरेश श्रेष्ठका अनुसार सिकलसेल तथा थालेसेमियाको स्किृनिङ्ग शिविरमा जाँच गरिएका मध्य १६.८ प्रतिशत बिरामी र बाहकहरु फेला परेका हुन् । त्यस्तै बिटा थालसेमिया बाहक ३३ जना फेला परेको उनले जानकारी दिए । राप्तीसोनारी ४ बैजापुरको कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको रगतको नमूना जाँच गरिएको हो । जाँचका क्रममा बिरामी वा वाहक भेटिएमा बुवा आमा सहित परिवारका अन्य सदस्यहरुको समेत नमूना जाँच गर्ने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहले बताए । शिविरमा भेरी अस्पताल नेपालगन्जका डा.राजन पाण्डेले बिरामीलाई उपचार तथा परामर्श सेवा दिएका थिए ।