राप्तीसोनारीको दुर्गम गाउँमा भव्य धान दिवस

भगवतीपुर (बाँके) : बाँके जिल्लामा यो वर्षको राष्ट्रिय धान दिवस राप्तीसोनारी गाउँपालिकाको दुर्गम गाउँमा मनाइएको छ ।
कृषि ज्ञान केन्द्र बाँके, बाली संरक्षण प्रयोगशाला खजुरा र माटो तथा मल परीक्षण प्रयोगशाला खजुराले साकार कृषि सहकारीसँगको सहकार्यमा बुधबार राप्तीसोनारी ३ भगवतिपुरमा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव-२०७९ विविध कार्यक्रमका साथ भव्य रुपमा मनाइएको हो । सो अवसरमा मेसिनबाट धान रोपिएको थियो । असार १५ मनाउन खेतमै दही चिउरा खाइएको थियो ।


कार्यक्रममा राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले कृषि क्षेत्रको विकासमा मलको अभाव बाधक भएको बताएकी थिइन् । उनले प्राराङ्गिक मलका लागि राप्तीसोनारी गाउँपालिकाले गौशाला बनाएर मल किसानलाई वितरण गरिने बताइन् ।


कार्यक्रममा राप्तीसोनारी गाउँपालिका ४ का वडाध्यक्ष मीनराज खड्का, माटो तथा मल परीक्षण प्रयोगशालाका प्रमुख कोमल शाही, पशु क्वारेन्टाइन कार्यालय प्रमुख डा.विनयकुमार कर्ण, बाली संरक्षण प्रयोगशालाका प्रमुख नरेश धिताल, कृषि व्यवसाय प्रबद्र्धन तथा तालिम केन्द्रका निमित्त प्रमुख विवेक पन्तले धानबालीमा जैविक विविधताको संरक्षण, चालम आयात रोक्न दुई बाली धान लगाउनु पर्ने, रसायनिक मलको विकल्प खोज्नेबारे धारणा राखेका थिए । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साकार कृषि सहकारीका मुख्य व्यवस्थापक जमानसिंह ओलीले स्वागत गरेका थिए ।

केन्द्र प्रमुख ढकालले यो वर्ष ढिलो वर्षा भएका कारण पाँच प्रतिशत मात्र रोपाइँ भएको बताएका थिए । उनले भने, ‘दुई बाली धान नलगाउने हो भने चामलमा आत्मनिर्भर हुन सकिँदैन । धानको आयात रोक्नका लागि जिल्लामा चैते धान कार्यक्रमका लागि किसान २ परियोजनाको सहयोगमा काम भइरहेको छ ।’

राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गरिएको हिले दौड प्रतियोगितामा पुरुषतर्फ लोकबहादुर चौधरी प्रथम, दोस्रो भुवनप्रसाद पन्त र महेन्द्र खड्का तेस्रो भएका थिए ।

त्यसैगरी महिला हिले दौड प्रतियोगितामा सम्झना थारु प्रथम, मुन्नी थारु दोस्रो र रेनुका लामिछाने तेस्रो भएका थिए । त्यसैगरी सोही अवसरमा आयोजना गरिएको धान रोप्ने प्रतियोगितामा बजारी थारु प्रथम, बिष्णुकुमारी चौधरी दोस्रो र गंगाकुमारी थारु तेस्रो भएका थिए ।

राप्तीसोनारी गाउँपालिका र साकार कृषि सहकारीबीच भएको हिले कबड्डी प्रतियोगितामा साकार सहकारीको टिम विजयी भएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई एक हजार, दोस्रो हुनेले ८०० र तेस्रोलाई ५०० नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।