जुम्ला चिनाउने नेपाली फिल्म ‘प्रकाश’को प्रदर्शन

नेपालगन्ज : नेपाली फिल्म ‘प्रकाश’को प्रदर्शन गरिएको छ । नेपालगन्जको बागेश्वरी क्यूएफएक्समा पनि शुक्रबारबाट यो फिल्म प्रदर्शनमा आएको हो । यो हलमा प्रकाश मध्यान्न १२ बजेदेखि एक शो प्रदर्शन भइरहेको छ । फिल्म सवा २ घण्टाको छ ।
विपन्न परिवारकाका युवा प्रकाशले सरकारी स्कुलको जागिर खानका लागि गरेको संघर्ष र उनले शिक्षक बन्न देखेको सपना पूरा गर्न भोगेका विभिन्न घटनाक्रमलाई चलचित्रमा प्रस्तुत गरिएको छ । जुम्ला जिल्लाको पातारासी गाउँपालिकाको तिर्खु गाउँमा ४५ दिनसम्म छायाङ्कन गरिएको फिल्ममा जुम्ली खस भाषा, संस्कृति, रहनसहन, रितिरिवाज फिल्मले दुरुस्तै उतारेको छ ।

फिल्ममा नायक प्रदीप खड्का र नायिका दीया मास्केले प्रकाशकी आमाको रुपमा जुम्ली महिलाको भूमिकामा मुख्य अभिनय गरेका छन् । फिल्मले जुम्ली भेषभुषा, भाषा, परिवेशले जुम्ला र जुम्ली पहिचान बोकेको छ । फिल्मको दिनेश राउतले निर्देशन गरेका हुन् । महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा रेनु योगी, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । बिनिस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, ताराप्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।