विद्युतीय माइक्रोमा बाँकेबाट सुर्खेत, ठाकुरद्वारा र धनगढीको यात्रा

कोहलपुरको चर्जिङ सेन्टरमा विद्युतीय माइक्रो बस । फोटो : शंकरप्रसाद खनाल

शंकरप्रसाद खनाल सुर्खेतबाट फर्केर
के तपाई सुर्खेतको वीरेन्द्रनगर, बर्दियाको ठाकुरद्वारा र सुदूरपश्चिम प्रदेशको धनगढी जाँदै हुनुहुन्छ ? रत्न राजमार्ग र पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक विद्युतीय माइक्रो बसमा यात्रा गर्न सक्नुहुनेछ । बागेश्वरी यातायात प्रालि कोहलपुरले विगत पाँच महिनादेखि ११ सिटे क्षमताका ४ वटा माइक्रो बस वीरेन्द्रनगरसम्म र एक–एक वटा गाडी बर्दियाको ठाकुरद्वारा र धनगढीसम्म सञ्चालन गरेको हो ।
कोहलपुरका चार जना व्यवसायी विष्णु खनाल, विकास बुढाथोकी, पदम भट्टराई र रविप्रसाद कर्माचार्यले बि.बि.इन्टरप्राइजेज प्रा.लि. नामक कम्पनी खोलेर बाँकेमा विद्युतीय माइक्रो बस भित्र्याएका हुन् ।१२ वटा विद्युतीय माइक्रो बस बिक्री भएको सञ्चालक कर्माचार्यले बताए । उनले भने, ‘नेपालगन्ज, सुर्खेत, ठाकुरद्वारा र धनगढीमा गरी ६ वटा यात्रुवाहक गाडीको रुपमा सेवा दिएका छन् । नेपालगन्जका होटल र स्कुलमा गरी अरु ६ वटा गाडी चलिरहेका छन् ।’
४४ लाख ९५ हजार रुपैयाँ पर्ने विद्युतीय माइक्रो बसमा बैंकले लगानी नगर्दा बुकिङ अनुसार गाडी खरिद बिक्रीमा समस्या भएको कम्पनीले जनाएको छ । कम्पनीले बुकिङ भएका १५ वटा गाडी पनि बिक्री गर्न सकेको छैन ।
विद्युतीय माइक्रो बसलाई एक पटक पूरा चार्ज गर्दा २५० किलोमिटरसम्म गुड्ने क्षमता राख्छ । यति गुड्दा ६०० रुपैयाँ बराबरको विद्युत महसुल (चार्जिङ शुल्क) तिर्नुपर्छ । इन्जिन नभएकाले गाडीमा मोबिल फेर्ने र सर्भिसिङ्ग गर्नुपर्दैन । मोटर र ब्याट्रीबाट चल्छ । टायर र ब्रेक लेदर मात्र फेर्दा पुग्छ । गाडी १६० को स्पिडमा गुड्छ तर जति गुडायो त्यत्ति चार्ज सकिने भएकाले चार्ज हेरेर चालकले ४०–६० को स्पिडमा मात्र गुडाउँछन् । यात्रा आरामदायी लाग्छ ।

यी गाडीको मुख्य समस्या भनेकै अहिले चार्जिङ सेन्टरको अभाव हो । कोहलपुरमा मात्र चर्जिङ सेन्टर छ । बि.बि.इन्टरप्राइजेजले कोहलपुर बसपार्क नजिकै विद्युतीय चार्जिङ पोइन्ट एण्ड रिफ्रेस सेन्टर खोलेको छ । कोहलपुर नगर विकास समितिको जग्गा १० वर्षका लागि लिजमा लिएर सेन्टर बनाइएको छ । जहाँ अहिले गाडी चार्ज मात्र हुन्छ । यात्रीलाई चिया, खाजा र खाना खुवाउन रेन्टुरेन्ट, शैलुन लगायतको सुविधा दिने तयारी भइरहेको छ ।
‘डिजेल, पेट्रोल केही पनि नलाग्ने भएकाले रिजर्बमा जाँदा पनि हाम्रो गाडी सस्तो पर्छ । चार्जिङ सेन्टरको अभावमा यी गाडी धेरै लामो दुरीमा जाँदैनन्’, भे १ ज १३११ नं. को माइक्रोबसका सञ्चालक प्रेम दर्लामी सुझाव दिन्छन्, ‘तत्काल नेपालगन्ज र सुर्खेतमा मात्र चार्जिङ सेन्टर खुलेको भए हामीलाई निकै राहात हुन्थ्यो । चार्जिङ सेन्टर जति धेरै ठाउँमा खुल्छ । त्यत्ति धेरै ठाउँमा सुविधा दिन सकिन्छ ।’
विद्युतीय गाडी आयात गर्ने कम्पनीले भने बैंकले लगानी नगरेकै कारण धेरै वटा चार्जिङ सेन्टर खोल्न नसकेको जिकिर गरेको छ । ‘नेपाल सरकारले नै देशका ५४ स्थानमा चार्जिङ सेन्टर स्थापना गर्ने भनेको छ । अब पेट्रोल पम्पले पनि चार्जिङ सेन्टर राख्न पाउनेछन्’, बि.बि.इन्टरप्राइजेजका सञ्चालक कर्माचार्यले प्रष्ट पारे, ‘नेपालगन्ज, सुर्खेतको छिन्चु, कर्णाली चिसापानी, धनगढी र अमिलियामा चार्जिङ सेन्टर खोल्ने हाम्रो तयारी छ । बैंकले लगानी नगरिरहेकाले समस्यामा परेका छौं । बैंकबाट सहज हुने बित्तिकै काम हुनेछ ।’ नेपालमा विद्युतीय गाडीमा ११ सिटे र २० सिटे माइक्रो बसका साथै ठूलो बस पनि भित्रिएको छ । काठमाडौंमा बस सञ्चालन भइरहेको छ । विद्युतीय कार पनि छ । अरु देशबाट पेट्रोलियम पदार्थ आयातमा निर्भर हुनुपर्ने र महंगो मूल्य तिरेर ल्याएको पेट्रोलिय पदार्थ जलेर हुने वायु प्रदुषण रोक्न पनि नेपाल र नेपालीका लागि विद्युतीय गाडी लाभदायक हुने प्रयोगकर्ताहरु बताउँछन् ।