नेपालगन्जको ३ र ७ नं. वडामा भूकम्प तथा आगलागी सम्बन्धी कृत्रिम अभ्यास

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको घना बस्ती भएका दुई वटा वडामा भूकम्प तथा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ ।
यूरोपियन युनियनको सहयोग तथा युनिसेफ नेपाल, युएनडीपी, युएन उमनको साझेदारीमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ र ७ मा रेडक्रस बाँकेद्वारा सञ्चालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले शुक्रबार र शनिबार कृत्रिम घटना अभ्यास गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार विपद् प्रतिकार्यमा समुदायको क्षमता अभिबृद्धि गर्ने अभिप्रायले समुदाय स्तरमा भूकम्प तथा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम गरिएको हो ।

कृत्रिम अभ्यासमा समुदायले भूकम्प तथा आगलागीमा अपनाउनुपर्ने पूर्वतयारी, खोज तथा उद्दार, प्राथमिक उपचार तथा स्थानिय स्रोत साधनको प्रयोग सम्वन्धमा अभ्यास गरिएको थियो । घटना अभ्यास कार्यक्रमा वडा स्तरीय विपद व्यवस्थापन समिति, स्थानीय स्वयंसेवक, रेडक्रसकर्मी सहभागितामा रहेको थियो ।
कृत्रिम अभ्यास कार्यक्रममा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रशान्त श्रेष्ठ, वडा नं. ३ का आयुव सिद्धिकी र नेपालगन्ज उपमहानगरपालिकाको विपद् फोकल पर्सन इन्जिनियर प्रकाश डी.सी., वडाका जनप्रतिनिधि, नेरेसो सदरलाइन उपशाखाका सभापति ओमप्रकाश आजाद, युनिसेफ नेपालका प्रतिनिधि अशिम श्रेष्ठ, नेपाल प्रहरीको प्रतिनिधि, दमकल सेवाका प्रतिनिधि र स्वयंसेवकहरुको सहभागिता रहेको थियो भने सहजिकरणकार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा नेरेसो बाँकेका सूचना व्यवस्थापन अधिकृतले गर्नुभएको थियो । नेरेसो सदरलाइन उपशाखाले रेडक्रस दिवसको रुपमा समुदायमा आयोजना गरिएको कृत्रिम अभ्यासका सिकाइका आधारमा आगामी दिनमा ४ सय स्वयं सेवकलाई खोज तथा उद्दार, प्राथमिक उपचार, आगलागी नियन्त्रण सम्बन्धी तालिम उपलब्ध गराउने योजना रहेको प्राविधिक अधिकृत शिव सुवेदीले बताए ।