तिब्बती गुम्बामा अवैध रुपमा लैजाँदै गरेका १६ नेपाली बालकको भारतको बस्ती सहरबाट उद्दार

शान्ति पुनःस्थापना गृह ललितपुरको टोलीले भारतको वस्तीबाट उद्दार गरिएका १६ जना बालकहरु । फोटो सौजन्य  शान्ति पुनःस्थापना गृह

नेपालगन्ज : भारतको कर्नाटक राज्यका तिब्बती बौद्ध गुम्बामा शिक्षा दिने भन्दै नेपालबाट अवैध रुपमा लैजाँदै गरेका १६ जना नाबालकहरुलाई बिहीबार भारतको बस्ती सहरबाट उद्दार गरिएको छ ।
शान्ति पुनःस्थापना गृह ललितपुरको टोलीले भारतको देहरादूनस्थित हेल्प क्रस ट्रष्ट नामक संंस्थासँग समन्वय गरेर नुवाकोटका १० जना, रसुवाका ५ जना र कैलालीका एक जना बालकलाई उद्दार गरेको हो । संस्थाका कार्यकारी निर्देशक सुमन सापकोटा उद्दार गर्न भारत गएका थिए । उनलाई हेल्प प्लस देहरादुनका महासचिव विशाल थापाले सहयोग गरेका थिए । कपिलवस्तुको कृष्णनगर नाका हुँदै बिहीबार नै बालकहरुलाई नुवाकोट र रसुवा लगिएको संस्थाका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए । उद्दार गरिएका बालक ३ जना ६ वर्षका, १२ जना ९ वर्ष मुनीका र एक जना १४ वर्षका रहेका छन् । उद्दार गरिएकामध्ये १५ जना तामाङ र एक जना थापा मगर छन् । रौतहटका ६ जना बालक अझै पनि भारतमै छन् । कागजातको प्रक्रिया जारी रहेकाले उनीहरुको बिहीबार उद्दार हुन सकेन । बालकलाई रुपन्देहीको खुला नाकाबाट भारत पु¥याइएको थियो । गिरोहबारे नुवाकोट, रसुवा र कैलाली प्रहरीले अनुसन्धान गरिरहेको छ ।