पश्चिमका व्यवसायीहरुले भने लगानीमैत्री वातावरण भएन


नेपालगन्ज : लुम्बिनी प्रदेशमा लगानी सम्मेलनको तयारीका लागि नेपालगन्ज उद्योग वाणिज्य संघमा बिहिबार लुम्बिनी लगानी सम्वाद कार्यक्रम आयोजना गरिएको छ । लुम्बिनी प्रदेश सरकार अर्थ तथा सहकारी मन्त्रालयको आयोजना र नेपालगन्ज उद्योग वाणिज्य संघको सह आयोजनामा भएको उक्त कार्यक्रममा सहभागि ६ जिल्लाका व्यवसायीहरुले लगानीमैत्री वातावरण नभएको गुनासो गरेका छन ।
कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुलवाहीद मन्सुरीले सरकारले लगानीमैत्री वातावरण बनाउन नसकेको बताए । ‘सरकारको करनीति व्यवसायीमैत्री छैन, उद्योगीलाई चाहिने ऋण पाउन बैंकवाट असहज हुनुका साथै चर्को ब्याजका कारण लगानी गर्न गाह्रो भएको छ’ लगानी सम्मेलनका लागि गरिएको सम्वाद कार्यक्रममा सुझाव संकलन गर्न आएका मन्त्रालयको टोलीसंग उनले भने ‘तपाईहरु उद्योगी, व्यवसायीलाई सुविधा दिनुस, हामी व्यवसायीहरु लगानी गर्न तयार छौ ।’


कार्यक्रममा दाँग उद्योग वाणिज्य संघका सचिव नरेशकुमार श्रेष्ठले बैंकको चर्को व्याजदर तिर्न नसक्ने अवस्थाले व्यवसायीहरु धरासायी अवस्थामा पुगेको बताए । कार्यक्रममा बाँके, बर्दिया, दाँग, रुकुम, राल्पा प्युठान लगायतका जिल्लावाट सहभागि भएका व्यवसायीहरुले पहुँचवालाले मात्र सरकारी अनुदान पाएको बताउँदै व्यवसायीमैत्री सरकारी नीति नहुँदा पछिल्लो समयमा लगानी डुब्ने त्रासमा आफुहरु रहेको बताएका थिए । कार्यक्रममा लगानी बोर्डका निर्वतमान सिईओ राजेश पन्तले विकास गर्न सरकारले नीजि क्षेत्रसंग हातेमालो गरी अगाडी बढनुपर्ने बताए । त्यस्तै प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेब घिमिरे क्षेत्रीले सरकारले लगानी प्रोत्साहन गर्न लुम्बिनी प्रदेशका पर्यटन, कृषि र उद्योगलाई प्राथमिकतामा राखेको धारणा राखे । ‘सरकार आफै व्यापार गर्ने पक्षमा छैन’ उनले भने ‘नीजिक्षेत्रको सहकार्यमा विभिन्न सुविधा दिएर आत्मनिर्भर प्रदेश बनाउने पक्षमा छौ ।’ कार्यक्रममा लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले प्रदेशभित्र लगानीका सम्भावित क्षेत्रहरूमा लगानी आकर्षण गर्ने उद्देश्यले लगानी सम्मेलनको आयोजना गरिन लागेको जानकारी दिए । कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव डा. दिपक काफ्ले, अर्थ तथा सहकारी मन्त्रालयका सचिव नेत्र प्रसाद सुवेदी, विभिन्न जिल्लाका अगुवा व्यवसायी, विज्ञलगाएतको सहभागिता रहेको थियो ।