बैंकका कारण ८० प्रतिशत व्यापारमा ह्रास आएपछि बाँकेका उद्योगी व्यवसायी आन्दोलित

नेपालगन्ज : बैंक तथा वित्तीय संस्थाका कारण उद्योग, व्यवसायमा ८० प्रतिशतले ह्रास आएको भन्दै बाँकेका उद्योगी व्यवसायी विरोधमा उत्रिएका छन् ।
नेपालगन्ज उद्योग बाणिज्य संघले बिहीबार पत्रकार सम्मेलन गरेर नेपाल राष्ट्र बैंकको नेपालगन्ज कार्यालय अगाडि एक घण्टा धर्ना दिएर ज्ञापन पत्र बुुझाउने र अवैध आयात नियन्त्रण र स्वदेशमै किनमेलको प्रोत्साहन गर्न जमुनाहा सीमा नाकामा सचेतना एवं दवाबमूलक कार्यक्रम गर्ने विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । माग पूरा नभए संघले बैैठक डाकेर अरु आन्दोलनका कार्यक्रम गर्ने चेतावनी पनि दिएको छ ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले भने, ‘बैंक तथा वित्तीय संस्थाको लगानी नहुँदा अहिले ८० प्रतिशत व्यापारमा ह्रास आएको छ । २० प्र्रतिशतमा मात्र चित्त बुझाउनु परेको छ । जस्तो पहिले एक महिनामा कम्तीमा दुई ट्रक सामान आयात गर्नेले मुस्किलले आधा ट्रक ल्याउन सकेको छ ।’ बैंकको चर्को ब्याजदर बृद्धि र कारोबारको २०–२५ प्रतिशतमात्र लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिको व्यापारीले विरोध गरेका छन् ।
संघका महासचिव चिरञ्जीवी ओलीले भने, ‘बैंकले प्रक्रिया मिचेर ओडी गरेका व्यवसायीलाई सात दिने सूचना निकालेर साँवा ब्याज चुक्ता गर्न सूचना प्रकाशित गरेर आतंकित बनाएको बताएका छन् । कम्तीमा पनि ३५ दिने सूचना निकाल्नुपर्ने व्यवस्था छ ।’
दशैंको बेलामा पनि नेपालगन्जमा व्यापार नभएर भारतीय बजारमा उपभोक्ताहरु गइरहेका र त्यहाँबाट अवैध सामान भित्रिरहेको भन्दै सीमामा कडाइ गर्न पनि संघले माग गरेको छ ।
चाडपर्वका बेला सीमा पारीका बजार चम्किने वारीका सुनसान हुने अवस्था आएकाले खुल्ला नाकालाई प्रश्रय दिने नीति व्यवसायीका लागि घातक रहेको अध्यक्ष मन्सुरीले बताए । कार्यक्रममा संघका प्रवक्ता टंक धामी र निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले पनि राज्यले उद्योगी व्यवसायीका लागि सरकारलाई लगानीमैत्री वातावरण बनाउन माग गरेका थिए ।