चुरा गोदाममा रहस्यमय आगलागी र विष्फोटन, सालाको मृत्यु, भिनाजु घाइते

नेपालगन्ज : बाँकेमा चुरा गोदाममा रहस्यमय ढंगबाट भएको आगलागी र विष्फोेटनबाट सालाको मृत्यु र भिनाजु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्ती मगरका अनुसार आइतबार बिहान ५ः४५ बजेतिर नेपालगन्ज उपमहानगरपालिका ५ रामनगरमा मो. आरिफ अन्सारीको चुरा गोदाममा आगलागी हुँदा अन्सारी घाइते भएका छन् । आगलागीमा परी उनका साला नाता पर्ने समीर वलीको मृत्यु भएको छ । विष्फोटबाट गोदामघर पूर्णरुपमा क्षति भएको छ ।
गोदाम घरभन्दा पर अर्को घरमा सुतेका वली आगलागी भएपछि गोदामको साँचो लिएर गएका थिए । घरमा के विष्फोटन भएको हो र वलीको मृत्यु कसरी भएको भन्ने रहस्यमय भएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।